टोल–बस्तिका महिला समुहलाई सक्रिय बनाउन प्राथमिकता

803
views

बेनी ९ असार । बेनी नगरपालिका–६ ले महिलाहरुलाई सामाजिक र आयमुलक कार्यमा सक्रिय बनाउन प्राथमिकता दिइएको छ ।

जनप्रतिनिधिहरुले आमा समूहलाई परिचालन गरेर सामाजिक रुपान्तरण, विकृति नियन्त्रणको अभियानका साथै आयआर्जन वृद्धिका लागि सीप विकासको कार्यक्रमलाई जोड दिएका हुन् । नगरपालिकामा रहेका सबै बस्ती र टोलमा गठित आमा समूहलाई संस्थागत गरी उनिहरुलाई क्षमता विकाससंगै सीपमुलक तालिम दिएर आयआर्जनको गतिविधिमा संलग्न बनाउन पहिलो चरणमा सामुदायिक भवन निर्माणको काम अघि बढाइएको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

यस वर्ष डम्मरा, चुक्रेनी, भगवती टोल र छापमा आमा समूहले चार वटा सामुदायिक भवन निर्माण गरेका छन् । कोठेसाँघु, एकपाटे शिवालय, जामुनाखर्क, एक्लेपिपल, बाँसबोट, अर्थुङगे देउराली, राधाकृष्ण आमा समूहको भवन निर्माणका लागि वडाको प्रस्तावमा नगरपालिकाले चालु आर्थिक वर्षमा पन्ध्र लाख पचास हजार रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

आमा समुहले दोब्बर बढी सहयोग र श्रमदान जुटाएर भवन निर्माण गरेका छन् । डाँडाबारी आमा समूहको भवन निर्माणकोका लागि नगरपालिकाको दुई लाख र तत्कालीन सांसद क्षेत्र विकास कोषको एक लाख रुपैयाँ अनुदानसँगै स्थानीय स्तरबाट चारलाख रुपैयाँ जुटाइएको अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो ।

समुहले सामाजिक समस्या तथा विकृति नियन्त्रण, विकास निर्माण, सारक्षता, बचत आदिको विषयमा छलफल, क्षमता तथा नेतृत्व विकाससंगै विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने योजनासँगै सिलाई कटाई, ढाकाका कपडा, स्विटर, अल्लो कपडा बुनाई जस्ता सामुहिक व्यवसायमा महिलाहरुलाई संलग्न गराई आयमुलक कार्यमा संलग्न बनाउँने वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

यसैबीच बेनी नगरपालिका–६ मा चालु आर्थिक वर्षमा बिनियोजन भएको एक करोड रुपैयाँ भन्दा बढी बजेटका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । सडक निर्माण, स्तरोन्नती, विद्यालयमा पूर्वाधार निर्माण, पैदलमार्ग निर्माण, पहिलो रोकथाम लगायतका योजना उपभोक्ता समिति मार्फत निर्माण गरिएको वडा सदस्य गणेशबहादुर शाहीले बताउनुभयो ।

सबैभन्दा बढी पाँच लाख रुपैयाँ बिनियोजन भएको देउराली बागेश्वर सडक योजना अन्तरगत एक किलोमिटर भन्दा बढी नयाँ ट्याक खोल्ने र पुरानो सडक स्तारोन्नती गरिएको छ ।

सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन र गुणस्तर सुधारका लागि कुनै पनी शूल्क नदिने व्यवस्था मिलाएको वडाले जामुनाखर्क मावि, विद्यामन्दिर, थाकनपोखरी र बागेश्वरी प्राविको भौतिक पूर्वाधारमा यस वर्ष दश लाख लगानी गरेको छ ।

सामाजिक विकास तर्फ २३, पूर्वाधारतर्फ १३, आर्थिक विकासका दुई, वातावरण तथा विपद् ब्यवस्थापनतर्फ एक, संस्थागत विकास तथा सेवा प्रवाह सम्बन्धि ९ वटा योजना सञ्चालन भएको थियो । आगामी आर्थिक वर्षमा खानेपानीलाई व्यवस्थित बनाएर घरघरमा धारा जडान गर्ने र टुक्रे भन्दा उपलब्धि देखिने प्रभावकारी योजना सञ्चालन गर्ने वडा अध्यक्ष बानियाँले बताउनुभयो ।