लोडसेडिङ अन्त्य भए पनि विद्युत् अनियमित

794
views

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले वैशाख अन्तिमबाट लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि प्राधिकरणका पुराना प्रशारण लाइन, ट्रान्सफर्मरलगायतका उपकरणमा गडबढी आउँदा तराईका अधिकांश जिल्लामा छिनछिनमा विद्युत् सेवा बन्द हुने गरेको छ ।

असारको पहिलो साता बितिसक्दा पनि वर्षा नहुँदा बढ्दो गर्मीका कारणले तराईका बासिन्दा विद्युत् सेवा बन्द हुँदा पीडित हुन थालेका छन् । नेपालगञ्ज, बर्दिया, धनगढी, महेन्द्रनगर, कपिलवस्तु, भैरहवा, रौतहट, बारा, पर्सा तथा पूर्वका झापा, मोरङ र सुनसरी जिल्लामा यस्तो समस्या देखा पर्न थालेको छ ।

विगत एक हप्तायता दैनिकजसो एकदेखि तीन घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुन थालेपछि कैलालीको टीकापुर, लम्की, चुहा क्षेत्रका बासिन्दाले प्राधिकरणको स्थानीय वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएका छन् । यता बर्दिया सदरमुकामबाहेक अन्य क्षेत्रमा पनि दैनिकजसो विद्युत् सेवा अनियमित हुन थालेको पछि स्थानीय नागरिक समाजले नगरपालिका र गाउँ पालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार हाल घोषितरूपमा कही पनि लोडसेडिङ गरिएको छैन । उहाँले भन्नुभयो, – ‘हामीले कहीँ पनि लोडसेडिङ गरेका छैनौँ तर स्थानीय तहमा देखिएका प्राविधिक खराबीका कारणले केही घण्टाका लागि विद्युत् आपूर्ति बन्द हुने गरेको छ तर त्यो लामो समयका लागि नभएर मर्मत सम्भार गर्न लाग्ने समयका लागि मात्र हो । ’

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरणका पुराना मेसिन, प्रशारण लाइन तथा अन्य उपकरणका कारणले विद्युत् प्रवाह प्रणालीमा बेला बेला प्राविधिक समस्या देखा पर्ने गरेको छ । जसले गर्दा तराईका अत्यधिक गर्मी हुने ठाउँमा विद्युत् उपभोक्तालाई मर्का परिरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा प्राधिकरणले धेरै जसो काम त प्रणाली सुधारमा गरेको छ । उहाँले भन्नुभयो, ‘यो वर्ष हाम्रो धेरै समय प्राधिकरणका विद्यमान पुराना संरचनाको मर्मत, सम्भार तथा नयाँ उकरण प्रतिस्थापन गर्न लागेको छ । जसले गर्दा प्रणालीमा देखिएको चुहावट पनि नियन्त्रण भएको छ भने आम उपभोक्तालाई धेरै राहत भएको छ । ’
प्राधिकरणको व्यवस्थापन पक्षले प्राविधिक चुहावट घटाउन विशेष योजना निर्माण गरी काम गरिहरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सब स्टेसन सुदृढीकरण, प्रशारण लाइन सुधार तथा पुराना ट्रान्सफर्मरको ठाउँमा नयाँ ट्रान्सफर्मर राख्ने काम प्रभावकारी रूपमा भइरहेको छ ।

उता ऊर्जा मन्त्रालयले ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक आयोजना अन्तर्गत प्राधिकरणलाई प्रणाली सुधारका लागि प्रशस्त बजेट प्रदान गरिएको छ । आयोजना प्रमुख चिरञ्जिवी चटौतका अनुसार चालु आर्थिक वर्षमा प्राधिकरणलाई आफ्ना प्रणाली सुधार तथा मर्मत सम्भारलगायतका कार्यका लागि बजेट प्रदान गरिएको छ । विशेष गरी तराईका जिल्लामा यस्तो समस्या किन देखा परिरहेको होला ? प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो, पुराना संरचनामा कहिलेकाहीँ प्राविधिक समस्या त आइहाल्छ । त्यसैले प्राधिकरणले तत्काल मर्मत, सम्भार गर्ने टोली खटिने व्यवस्था गरिएको छ । गोरखापत्र