स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश

667
views

काठमाडौ, १२ असार । स्पेन र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा आ आफ्ना प्रतिद्वन्द्वीसँग बराबरी खेल्दै स्पेन र पोर्चुगलले समुहका तीन खेलबाट ५–५ अंक जोड्दै राउण्ड अफ सिक्सटिनमा उक्लिएका हुन् ।

समुह बी को अन्तिम खेलमा गएराति स्पेनले मोरक्कोसँग २-२ गोलको बराबरी खेल्यो । ९० मिनेटसम्म २–१ ले पछि परेको स्पेनका लागि ईयागो आसपासले ईन्जुरी समयमा बराबरी गोल गरेका हुन् ।

यसअघि खेलको १४ औं मिनेटमा मोरक्कोका खालिद बौताएबले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । १९ औं मिनेटमा ईस्कोले एक गोल फकाउँदै खेल बराबरी गरे । दोस्रो हाफको ८१ औं मिनेटमा योसुफ एन नेसिरीले एक गोल गरेपछि खेलमा मोरक्कोले दोस्रो पटक अग्रता लियो ।

पराजयको संघारमा पुगेको स्पेनका लागि आसपासले भिजुएल असिस्टेन्ट रेफ्री भि.ए.आर.को मद्दतले गोल गर्दै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि स्पेन समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ । अर्को चरणमा स्पेनले समुह ए को उपविजेता रुसको सामना गर्नेछ ।