बेनी नगरपालिकामा ५४ करोडको बजेट पारीत

676
views

बेनी १४ असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि झण्डै ५४ करोड रुपैया बराबरको बजेट पारीत गरेको छ । बेनीमा सम्पन्न तेस्रो नगरसभामा नगरसभामा उपप्रमुख सञ्जु बरुवालद्वारा प्रस्तुत ५३ करोड ८९ लाख १३ हजार बराबरको बजेट पारीत गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले संघीय सरकारले वित्तिय समानीकरण तर्फ १७ करोड ५१ लाख १३ हजार, सशर्त अनुदान ३१ करोड ३३ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान एक करोड ९२ लाख, आन्तरिक आम्दानी २ करोड ८३ लाख र जिम्मेवारी सरेर आएको ३० लाख रुपैयालाई समावेश गरि बजेट निर्माण गरिएको जनाए ।

पारीत बजेटको चालुतर्फ कुल रु ३७ करोड ६६ लाख र पूँजीगत तर्फ रु १६ करोड २३ लाख १३ हजार बजेट विनियोजन गरिएको प्रवक्ता बराईलीले जानकारी दिए ।

नगरपालिकाले आर्थिक विकासतर्फ एक करोड, बन बातावरण तथा विपद व्यवस्थापनमा ५० लाख, शुसाशन तथा संस्थागत विकासमा एक करोड ४२ लाख, वित्तिय व्यवस्थापन तथा सेवा प्रवाहमा २५ लाख १३ हजार, पूर्वाधार विकासमा ४ करोड ५० लाख विनियोजन गरेको जनाएको छ ।

त्यसैगरि नगरपालिकामा रहेका १० वटै वडामा ५० लाखको दरले पाँच करोड बजेट विनियोजन गरिएको छ । प्रदेश, संघीय सरकार र विभिन्न परियोजनासंग सहकार्य गरेर सञ्चालन गरिने आयोजनाका लागि सम्पुरक कोषमा एक करोड ८१ लाख रुपैया छुट्टाईएको छ ।

नगरपालिकाले गौरवको आयोजना घोषणा गरेको पुलाआश्रम र आँपारुखमा रामायण पार्क निर्माणका लागि ४२ लाख, खुला मञ्च खेलमैदानको लागि ५५ लाख, लभ्लहिलमा पूर्वाधार निर्माणका लागि ५८ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धनको क्षेत्रमा जगन्नाथ मन्दिर रहेको गाजनेमा भ्यू टावरको लागि पाँच लाख, स्वर्गाश्रमको लागि पाँच लाख, फनपार्कको लागि पाँच लाख र गुफा राम मन्दिरको लागि पाँच लाख रुपैया बजेट समेत विनियोजन गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

बजेटकम बेनी–पात्लेखेत सडकलाई प्रदेश सरकार मार्फत रु ५० हजार विनियोजन भएको र सो सडकलाई थप बजेट व्यवस्थाको लागि संघिय सरकारमा समेत पहल भैरहेको जनाइएको छ ।