इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम समूह विजेता

674
views

मस्को, १५, असार । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम रुसमा जारी विश्वकप फुबटलमा आफ्नो समूहको विजेता बनेको छ । गएराति कालिनिन्ग्राद रंगशालामा भएको समूहको अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेका थिए ।

समूहमा लगातार दुई खेल जित्दै दुवै टोली अन्तिम १६ मा पुगिसकेका थिए । यस्तोमा जित–हार वा बराबरीले यो समूहको विजेता र उपविजेता टुंगो लगाउँथ्यो ।

खेलको ५१ औं मिनेटमा अद्नान यानुजाईले बेल्जियमका लागि निर्णायक गोल गरे । जितसँगै बेल्जियम समूह विजेता बन्दा इंग्ल्याण्ड उपविजेतामा खुम्चियो ।

समूह चरणमा शतप्रतिशत नतिजा निकालेको बेल्जियमले पानामा, ट्युनिसिया र इंग्ल्याण्डलाई पराजित गर्दै ९ अंक जोड्यो । ट्युनिसिया र पानामालाई हराएको इंग्ल्याण्डले भने ६ अंकमात्रै जोड्यो ।

यही समूहको अर्को खेलमा हिजो ट्युनिसियाले पानामालाई २–१ ले पराजित ग¥यो । जितसँगै ट्युनिसियाले समूहमा ३ अंक जोड्दा पानामा भने अंकविहीन अवस्थामै घर फर्कियो ।

खेलमा अग्रता भने पानामाले लिएको थियो । २१ औं मिनेटमा ट्युनिसियाका खेलाडी मेरीयाले आत्मघाती गोल गरेपछि पानामाले उपहार पाएको थियो । ५१ औं मिनेटमा बेन युसुफले गोल गर्दैै ट्युनिसियालाई खेलमा फर्काए । ६६ औं मिनेटमा वाहबी खाज्रीले गोल गर्दै ट्युनिसियाको जित पक्का गरे । जारी विश्वकपमा खाज्रीको यो दोस्रो गोल हो ।