काठमाडौँका अधिकांश मल्टिप्लेक्सहरुमा ‘सञ्जु’ रिलिज भएन किन ?

828
views

काठमाडौँ । भारतीय कलाकार सञ्जय दत्तको जीवनमा आधारित बहुप्रतीक्षित हिन्दी फिल्म ‘सञ्जु’ काठमाडौँका अधिकांश मल्टिप्लेक्समा रिलिज भएन । राजधानीमा सबैभन्दा बढी हलको नेटवर्क भएको क्युएफएक्सका पाँच वटा मल्टिप्लेक्स ठमेलको छायाँ सेन्टर, पाटनको लबिम मल, सुन्धाराको सिभिल मल, कुमारी र जय नेपालमा शुक्रबार चारवटा हलिउड फिल्म र दुई हप्ताअगाडिको रेस ३ मात्र देखाइएको छ ।

चार वटा हलिउड फिल्मका पनि केही शोहरु मात्र राखिएका छन् । सबैभन्दा धेरै शो हुने तीन वटा हल भएको क्युएफएक्स सिभिल मलमा शनिबार कुन फिल्म लाग्ने शुक्रबार दिउँसोसम्म वेबसाइटमा जानकारी छैन । सामान्यतया क्युएफएक्समा केही दिनअघिदेखि नै बुकिङ खुला हुने गर्छ ।

त्यसैगरी कमलपोखरीको बिग मुभिज, गोंगबुको बिएसआर मुभिज र चाबहिलको एफक्युबमा पनि ‘सञ्जु’ लागेको छैन । आखिर सबैभन्दा बढी शो र व्यापार हुने सप्ताहान्त शुक्रबार र शनिबारमा आफ्ना हलै खालीसमेत हुने गरी किन मल्टिप्लेक्सहरुमा सञ्जु रिलिज भएन त ?

फिल्म वितरण कम्पनी र हल सञ्चालकबीच कुरा नमिलेपछि मल्टिप्लेक्सहरुमा सञ्जु रिलिज नभएको हो । सञ्जुलाई गोपिकृष्ण मुभिजले नेपाल राइट्स किनेको छ ।

मंगलबार, बुधबार र बिहीबार मल्टिप्लेक्सले दर्शकलाई दिंदै आएको टिकटमा सहुलियत सञ्जुका लागि उपलब्ध गराउन नपाउने वितरकको माग हो । मल्टिप्लेक्स उक्त माग सम्बोधन नगर्ने निर्णय गरेपछि ‘सञ्जु’ नलागेको हो नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपीलकाजी कायस्थले बताए ।

सञ्जुको नेपालका लागि आधिकारिक विक्रेता गोपिकृष्ण मुभिज हो । काठमाडौं भित्रका लागि गोपिकृष्णले नै फिल्म वितरण गर्छ भने मोफसलमा मनोज राठी वितरक हुन् । ‘व्यवसायिक कुरा नमिलेको बुझिएको छ ।

काठमाडौँका अरु मल्टिप्लेक्सहरु मध्ये राइजिङ मलको क्युज सिनेमामा मात्र सञ्जु लागेको छ । क्युज सिनेमाका सुमित मैनालीका अनुसार भने ‘सञ्जु’ प्रदर्शन विवादमा आउनुको अन्य कारण रहेका छन् । ‘दुई साताअघि सलमान खान स्टारर बलिउड फिल्म ’रेस थ्री’को प्रदर्शन ताका काठमाडौंका अधिकांश मल्टिप्लेक्सले फिल्म उतारेका थिए । तर क्यूजले भने सम्झौता भएको समयसम्म फिल्म प्रदर्शन र्गयो जसका कारण उनको हलले सञ्जु प्रदर्शनमा लफडाको झेल्नु परेन ।

क्युजको वेबसाइटमा मंगलबारको दिन शोहरुमा हुने छुट ‘कारणवश’ हटाइएको जानकारी पनि राखिएको छ ।
के भन्छ क्युएफएक्स?
क्यूएफएक्सका अपरेसन म्यानेजर सुरेन्द्र थापाले ’सञ्जु’ वितरकले टिकट सहुलियतमा छुट नगर्न माग राखे पनि दर्शकलाई प्रभाव पर्ने भएकोले वितरकका शर्त स्वीकार नगरेको बताए ।

उनले भने ’जो डिस्ट्रिब्यूटर हो, उहाँहरुले कतिपय सर्तहरु राख्नुभएको छ । अलि अगाडि नै सर्तहरुबारे जानकारी गराउनु भएको भए, हलहरुले पनि आफ्नो दर्शकलाई दिंदै आइरहेको सुविधा कटौती हुँदैछ भनेर जानकारी दिन सजिलो हुन्थ्यो । एक्कासी यस्तो सर्त आएपछि हामीले ’सञ्जु’ लगाएनौँ हलमा ।’

’सञ्जु वितरकले सहुलियत कटौती गर्दा आफूलाई पैसा कम आउँछ भन्ने कुरा गरेका थिए । हलको टिकट सहुलियत हाम्रा कस्टमरलाई दिइने सुविधा हो’, उनले थपे ।

मल्टिप्लेक्सहरुले बहिस्कार गरेपछि सञ्जु वितरक कम्पनीकै हल गोपीकृष्ण र विश्वज्योति जस्ता सिंगल थियटरहरुमा मात्र लागेको छ ।

राजकुमार हिरानी निर्देशित फिल्ममा रणवीर कपूरले सञ्जय दत्तको अभिनय गरेका छन् भने मनीषा कोइरालाले उनकी आमाको । फिल्ममा अनुश्का शर्मा, दिया मिर्जा लगायतको अभिनय रहेको छ ।