‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थमा सुधार

1897
views

चितवन, १७, असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । उपचारका लागि यही असार ३ गते सिङ्गापुर जानुभएको थियो । सीता दाहाल प्रचण्डसँगै सिंगापुर जानुभएको हो ।

जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उहाँको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उहाँ पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताउनुभयो ।

स्वास्थ्यमा सुधार आएपछि उहाँहरु आज राति काठमाडौँ आउँदै हुनुुहुन्छ । उहाँसँगै जानुभएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसक्नुभएको छ ।

यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उहाँले बताउनुभयो । उहाँलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ ।