पूर्वतयारीको लागि थप कार्य गर्न आग्रह

829
views

ललितपुर, १७ असार । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले भविश्यमा आउनसक्ने विपद्को अवस्थालाई ध्यानमा राखी अझ बढी पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को लतिपुर जिल्ला शाखाको स्वर्ण महोत्सव समापन समारोहमा मन्त्री थापाले मानवीय समस्याहरु समाधान गर्न विद्यालय र समुदायस्तरमा जनसमुदायलाई सँगठित गरी समाजसेवामा लाग्न प्रेरित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

पुल्चोकमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथि नेरेसोका अध्यक्ष सञ्जीव थापाले समुदायको सँकटासन्नता न्यूनीकरण, उद्यार राहत, स्वास्थ्य प्रवर्धनलगायतका क्षेत्रमा रेडक्रस सँलग्न भैआएको र समुदायको आवश्यकता परिपूर्ति गर्न स्रोत साधनको उपलव्धता एउटा चुनौति रहिआएको बताउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रेडक्रसका गतिविधिबाट आफू विद्यार्थीकाल देखि नै परिचित भैआएकोले ठोस उपलव्धि देखिने क्षेत्रमा रेडक्रससँग सहकार्यगर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर रेडक्रसको विकासमा योगदान दिनुहुने र स्वर्णमहोत्सव अवधिमा प्रतियोगितात्मक गतिविधिका विजेता विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।