सरकारी विद्यालयले शुल्क उठाउँदा उजुरी, कार्वाही कि छुट ?

1409
views

महेन्द्र जिसी
पर्वत, १७ असार । यहाँको एक सरकारी विद्यालयले माविमा अध्ययनरत विद्यार्थीसँग शुल्क उठाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मोदी गाउँपालिका–६ स्थित नवजागृति उच्च माध्यमिक विद्यालयले मा.वि.मा पठनपाठन गर्ने विद्यार्थीसँग शुल्क उठाएको भन्दै स्थानीयले उजुरी दिएका हुन् ।

स्थानीयले विद्यार्थीबाट मानोमानी रुपमा मासिक शुल्क उठाएको तर, हिसाब किताब पारदर्शी ढंगले नदेखाएको भन्दै उजुरी दिएका हुन् ।

स्थानीयद्वारा दर्ता नं १८ सय १८ नम्बरमा दर्ता भएको उक्त उजुरीमा सामुदायीक विद्यालयले मानोमानी शुल्क उठाउनु शिक्षा नियमावली विपरीत भएको भन्दै तत्काल कार्वाहीको माग सहित उजुरी दर्ता गराएका हुन् ।

सो गाउँपालिकाले सामुदायिक विद्यालयले मासिक शुल्क लिन नपाउने व्यवस्था पास गराईसकेको छ, साथै नेपाल सरकारले निःशुल्क तथा अनिवार्य शिक्षा सञ्चालन गरिरहेको सन्दर्भमा विद्यालयले विद्यार्थीहरु मार्फत शुल्क लिएर हिनामिना गर्र्ने गरेको स्थानीयको भनाई छ ।

स्थानीयवासी रत्न लम्सालका अनुसार ‘सो विद्यालयले ०६८ साल देखी लेखा परिक्षण समेत गराएको छैन् । विद्यालयले विद्यार्थी मार्फत उठाएको शुल्क हिनामिना गरेको प्रष्ट छ, उनले भने एक त सामुदायिक विद्यालयले शुल्क उठाएको छ त्यसैमा पनि हिसाब किताब पारदर्शी छैन् ।

अख्तियारीमा परेको उक्त उजुरीमा सो विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सुवेदीले विगत ६÷७ बर्षदेखी विद्यालय सञ्चालन गर्दै आएको तर, उनको पाँचबर्षे पदावधि सकिएको उल्लेख गरेका छन् ।

उजुरीमा शिक्षा ऐन २०५८ को नियमावली नियम ७८ को उपनियम (ग) अनुसार कक्षामा भर्ना हुनको लागि विद्यालयले दिएको बार्षिक परक्षाको लब्धाङ्क र स्थानान्तरण पत्र समावेश गरी विद्यार्थीको भर्ना लिनुपर्न सोही नियमावलीको नियम ९३ को उपनियम (८) मा प्रधानाध्यापकको पदावधि पाँचबर्षको मात्र हुनपर्ने र त्यस्तो सामुदायिक विद्यालयमा विद्यार्थीसँग शुल्क लिन नपाईने सवालमा स्थानीय ऐनमा समेत व्यवस्था गरेको भएपनि विद्यालयले एउटै कक्षाका विद्यार्थीलाई दुई ग्रुपमा विभाजन करी कसैलाई अंग्रेजी र कसैलाई नेपाली भाषामा अध्यापन गराएको समेत उल्लेख गरेका छन् ।

स्थानीयवासीले नै अख्तियारीमा उजुरी दिएपछि सो विद्यालयको गतिविधिबारे छानविन सहित कार्वाहीको आशामा रहेको स्थानीयको भनाई छ ।