‘रामकहानी’ सँगै एकै मितिमा तीन फिल्मको भिडन्त

1051
views

काठमाडौ । नायिका पूजा शर्माको निर्माण रहेको फिल्म ‘रामकहानी’ आगामी भदौ २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । पूजाले ‘मेरी बास्सै’का माग्नेबुढा अर्थात केदार घिमिरेलाई १० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक दिएर फिल्म खेलाए चर्चा हुँदै आएको छ। यस फिल्ममा पूजा शर्मासँग आकाश श्रेष्ठले रोमान्स गरेका छन् ।

सिनेमाको अहिलेसम्म एउटा मात्रै गीत सार्वजनिक भएको छ । ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउछु’ जस्ता हिट सिनेमा दिएकी पूजाको यो फिल्मलाई दर्शकले प्रतीक्षा गरिरहेका छन् । उनी यो फिल्मबाट आफ्नो करिअरमा सफलताको ह्याट्रिक गर्न चहान्छिन् । तर, उनलाई यसपटक भने सजिलो छैन । उनको सिनेमा रामकहानीसँगै नायक प्रदीप खड्काको सिनेमा ‘रोजी’ प्रदर्शनमा आउने भएको छ । रोजी हत्याकाण्डमा आधारित रहेर निर्माण गरेको सिनेमा रोजीको उद्धव पौडेलका छोरा निरक पौडेलले निर्देशन गरिरहेका छन् । यस हिसाबले पनि रोजीले हलमा राम्रो उपस्थिति जनाउने अनुमान गरिएको छ ।

त्यस्तै सोही मितिमा रंगपत्रकार एवम् निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको सिनेमा ‘सुश्री सम्पती’ पनि प्रदर्शनमा आउने भएको छ । एकै मितिमा ३ वटा सिनेमाको भिडन्त हुने भएपछि कुनले बाजी मार्ने हो भन्ने चाँसोको विषय बनेको छ ।

आफ्नो सिनेमासँगै प्रदीपको सिनेमा पनि प्रदर्शनमा आउने भएपछि छटपटाएकी पूजाले फेसबुकमा स्टाटस ठोकिन् । त्यो पनि आफूलाई चर्चित अर्जेनिटनी फुटबल खेलाडी मेस्सीसँग तुलना गरेर ।

स्टाटसमा उनले लेखेकी छन्, ‘मेस्सी र म उस्तै । जब खेल्न प्रयास गर्छु तब धेरै परिस्थितिले घेरिदिएको हुन्छ । त्यस्तै भएको छ ‘रामकहानी’ रिलिज मितिको । केही चलचित्र मलाई तल पार्न सोही मितिमा आउन लागेका छन् तर ठिकै छ । मेसीलाई घृणा गर्ने धेरै छन् तर केही कुराले उनलाई डाउन पार्न सकिन्न । किनभने उनलाई माया गर्ने आफ्नो फ्यान र शुभचिन्तक धेरै छन् । म पनि एक खेलाडी हो जोसँग फ्यानको माया र साथ छ । मैले चलचित्र बनाएको प्रतिस्पर्धाको लागि होइन, मलाई माया गर्ने फ्यान र शुभचिन्तकको लागि बनाएको हो । जय रामकाहनी, भदौ २२ ।’