महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास

1411
views

दार्चुला, १९ असार । तीनदिनदेखी परेको अविरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो ।

नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताए । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।

महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताईन् ।

नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ ।

लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ । भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । खोतिला क्षेत्रमा खसेको पहिरो महाकाली नदीमा आएका कारण नेपालको बंगाबगड क्षेत्रमा जोखिम रहेको छ ।

नेपालतर्फको नदी किनारमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा ठाउँ साँगुरो भएको तथा पानीको बेगले कटान गर्नसक्ने तथा महाकालीको पानी बंगाबगड बजारसम्म आउने खतरा रहेको छ ।