रुसले विश्वकै सबैभन्दा ठूलो परमाणु क्षेप्यास्त्र प्रदर्शन गर्यो

649
views

एजेन्सी । – सेन्ट पिटर्सवर्ग,रुसको सेन्ट पिटर्सवर्गमा गत बिहीबार आयोजित एक रिहर्सल परेडले विश्वको ध्यान तानेको छ । मे ९ मा रुसमा मनाइने विजय दिवस ‘भिक्ट्री डे’ को तयारीका लागि भइरहेको उक्त रिहर्सल परेडमा ट्यांकसँगै परमाणु हतियार पनि देखिइएको थियो । त्यसको तस्वीरहरू रुसी सञ्चारमाध्यमहरूले हालैमात्र जारी गरेको हो ।
उक्त परमाणु बम विश्वकै सबैभन्दा ठूलो बताइएको छ । रुसको उक्त परमाणु क्षेप्यास्त्रसँग अमेरिका र २८ देशका संगठन नेटो पनि तर्सेर यसलाई सेतान नाम दिएको छ। तर, रुसमा यसको नाम आरएस २८ सार्मट रहेको छ। यसको विध्वंशक क्षमता यति धेरै छ कि, हिरोसिमामा खसालिएको परमाणु बम यसको अगाडि खेलौना मात्र भएको सञ्चारमाध्यमले जनाएका छन् । ७ किलोमिटर मिटरको गतिमा उडान भर्दै निसाना साँध्न सक्ने यो परमाणु क्षेप्यास्त्रले १० हजार किलोमिटर दूरीसम्म प्रहार गर्न सक्छ। यसको गतिलाई अमेरिकाको सबैभन्दा आधुनिक क्षेप्यास्त्र प्रतिरोध प्रणालीले पनि पछ्याउन सक्दैन ।

सामान्यतया हरेक वर्ष हुने यस प्रकारको रिहर्सल सामान्य हुने गर्छ तर यो पटक भने स्थिति भिन्न भएको छ। पश्चिमी सञ्चारमाध्यमले यसलाई सीधै रुसको शक्ति प्रदर्शनका रूपमा चित्रण गरेको छ । पछिल्ला केही वर्षदेखि रुस र अमेरिका तथा पश्चिमाबीच तनावको स्थिति रहेको छ । हालै मात्र अमेरिकाले सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणले रुस र अमेरिकाबीचको तनाव अझ उत्कर्षमा पुर्याएको छ ।
यसैबीच अमेरिकाले पनि बिहीबार नै अमेरिकी एयरफोर्सले लामो दूरीको एक शक्तिशाली क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । यो परमाणु हतियार बोक्न सक्षम छ ।

सन् १९४५ मा रुसको सेना समक्ष जर्मनीको नाजी फौजले घुँडा टेकेको थियो। त्यसपछि नै युरोपको विध्वंश मानिएको दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । सोही विजयको स्मरणमा हरेक वर्ष मे ९ मा मस्कोको रेड स्क्वायरमा विजय दिवस मनाउने गर्दै आइरहेको छ । यसमा रुसी सेनाले विश्वलाई आफ्नो शक्ति देखाउँदै आइरहेको छ। ‘भिक्ट्री डे’ रुसको महत्त्वपूर्ण कार्यक्रममध्येको एक हो । यसले आम नागरिकमा देशप्रेमको भावना जगाउने गरेको छ । यो दिन दोस्रो विश्वयुद्धमा मारिएका करिब २ करोड रुसीप्रति श्रद्धाञ्जली दिने गरिन्छ ।