धरहरा पुनः निर्माण हुँदै पाँचवटा निर्माण कम्पनी छनोटमा

2281
views

काठमाडौँ, असार २१ गते । धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ ।  पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।

पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, तीमध्ये पाँचवटा निर्माण कम्पनी छनोटमा परेका हुन् । प्राधिकरणका अनुसार, छनोट भएका कम्पनीहरूमा जेइक लामा जेभी, सीआर फाइभ सीईएस स्वच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईटीसी रमन जेभी र सीआईसीओ कालिका जेभी रहेका छन् ।
छनोटमा परेका कम्पनीहरूको आर्थिक प्रस्ताव असार २६ गते खोलिने जानकारी दिंदै सहसचिव मानन्धरले सबैभन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव गर्ने कम्पनीलाई धरहरा निर्माणको जिम्मेवारी दिइने बताउनुभयो ।
धरहरा पुनःनिर्माण प्रक्रिया तीब्र रूपमा अगाडि बढिरहेको र साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनःनिर्माणको शिलान्यास गर्नु हुने कार्यक्रम तय भएको जानकारी उहाँले दिनुभयो । यसअघि असारको अन्तिम साता शिलान्यास कार्यक्रम तय भएको थियो । शिलान्यास भएको दुई वर्षभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने गरी प्राधिकरणले काम अगाडि बढाएको उहाँले बताउनुभयो ।
धरहरा पुनःनिर्माणका लागि एक महिना अघि आह्वान गरिएको ग्लोबल बोलपत्रमा ६ वटा निर्माण कम्पनीले आवेदन दिएको तथा सबै निर्माण कम्पनी नेपाली नै रहेको जानकारी सहसचिव मानन्धरले दिनुभयो । आवेदन दिएका नेपाली कम्पनीहरूमा चिनियाँ निर्माण कम्पनी मात्र ‘ज्वाइन्ट भेन्चर (जेभी)’ को रूपमा रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार, नयाँ डिजाइन अनुसार धरहराको लागत चार अर्ब २७ करोड रुपियाँ (भ्याट र १० प्रतिशत मूल्य वृद्धि) सहित हुनेछ ।
नवनिर्मित धरहरा २४ रोपनीमा फैलिने छ । धरहरा निर्माणका लागि गोश्वारा हुलाकका भवनहरू भत्काइने प्राधिकरणले जनाएको छ । हुलाक कार्यालय डिल्लीबजारस्थित चारखालमा सारिने छ । सरकारले हुलाक कार्यालय निर्माणका लागि चारखालमा १५ रोपनी जग्गा उपलब्ध गराइसकेको छ ।
प्राधिकरणका अनुसार अहिले धरहरा निर्माण कोषमा नौ करोड रुपियाँ जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु, मेरो धरहरा’ अभियानको घोषणासँगै खडा गरिएको कोषमा प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब राखेर खाता खोल्नुभएको थियो ।
नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ‘डिजाइन’ को काम सम्पन्न भइसकेको जानकारी दिंदै महाशाखा प्रमुख मानन्धरले नवनिर्मित धरहरा जमिनमुनि दुई र जमिनमाथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुने बताउनुभयो । धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एन्ड एसोसिएट्सले तयार पारेको हो ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको १८औंंँ तलामा १७ जना सम्म अट्न सक्ने मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्पले गरिने छ । २४५ फिट अग्लो धरहराको टुप्पोमा सिसाले घेरेको ‘भ्यू डेक’ निर्माण गरिने छ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
इतिहासलाई जीवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका पुराना मेसिन,मुद्रालगायतका ऐतिहासिक वस्तुहरूको सङ्ग्रहालय समेत निर्माण गरिने प्राधिकरणले जनाएको छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गर्नुभएको धरहरा १९९० सालको भूकम्पमा केही भाग ध्वस्त भए पनि २०७२ साल बैशाख १२ गतेको भूकम्पमा पूर्ण रुपमा ध्वस्त भएको थियो । धरहरा ६१.८८ मिटर अर्थात् २०३ फिट अग्लो थियो भने धरहरामा २१३ वटा सिढी थिए ।
वि सं. १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । भीमसेन थापाले निर्माण गरेको