नेपाल प्रहरीका तीन पूर्व आइजिपीलाई कैद सजाय

375
views

काठमाण्डौ, १८, बैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन पूर्व आइजिपी सहित अन्य अधिकारीलाई कैद सजाय सुनाएको छ । सुडान घोटाला प्रकरणमा अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका पूर्वआइजी ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई समान एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो । दुई महिनादेखि सुनुवाइ भइरहेको सुडान भ्रष्टाचारको मुद्दाको बहस सकिएपछि आइतबार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले फैसला गरेको हो । अदालतले तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ । यस्तै, तत्कालीन डिआइजी दीपककुमार श्रेष्ठ र एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना फैसला गरिएको छ । यसअघि विशेष अदालतले तीन पूर्वआइजिपी र ठेकेदारलाई मात्र दोषी ठहर गरी अरूलाई सफाइ दिएको थियो ।