त्रिविले जित्यो तेस्रो प्रधानमन्त्री कप उपाधि

713
views

काठमाडौँ  २४ असार— त्रिभुवन विश्वविद्यालय ले तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ । त्रिवि ९ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै चार खेल समावेश प्रतियोगितामा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा काठमाडौं विश्वविद्यालय (केयू) दोस्रो भयो । केयूले २ स्वर्ण, ४ रजत र ५ कांस्य जित्यो । २ रजत र ३ कांस्य जितेको सुदूरपश्चिमाञ्चल तेस्रो भयो । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाए ।
ब्याडमिन्टनमा समावेश चार स्पर्धामा त्रिविका खेलाडीले स्वर्ण जिते । पुरुष सिंगल्स फाइनलमा जीवन आचार्यले आफ्नै टिमकै पूर्णबहादुर थापालाई २१–१७, २१–१८ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा सीताकुमारी राईले तारा आलेमगरलाई २१–१४, २१–६ को सोझो सेटमा हराए । पुरुष डबल्स फाइनलमा त्रिविका जीवन र पूर्णको जोडीले कृषि तथा वन विज्ञानका प्रशान्त भट्ट र लक्ष्मीनारायण ओझाको जोडीलाई २१–१५, २१–११ को सोझो सेटमा पाखा लगाए । महिलामा त्रिविका सीता र ताराको जोडीले स्वर्ण जिते ।
भलिबलको पुरुष/महिला दुवैमा त्रिविले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुरुष फाइनलतर्फ त्रिविले सुदूरपश्चिमाञ्चललाई २३–२५, १६–२५, २५–२१, २५–२०, १६–१४ ले हरायो । महिला फाइनलमा पनि त्रिविले सुदूरपश्चिमलाई नै २५–२०, २७–२५, २५–१७ को सोझो सेटमा हरायो । दुवैमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय तेस्रो भयो ।
बुद्धिचालमा पनि त्रिविले १० अंक जोड्दै पहिलो स्थान हासिल गर्यो । केयू दोस्रो तथा सुदूरपश्चिमाञ्चल तेस्रो भए ।