परम्परागत संस्कति जोगाउन नुवाकोटमा लुतो फाल्ने कार्यक्रम

1656
views

नुवाकोट । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पञ्चकन्या फार्म हाउसले सांस्कृतिक तथा अन्तर्कृया कार्यक्रम गर्ने भएको छ । साउने संक्रान्तिको अवसरमा स्थानीय स्तरमा पर्यटनको आगमनलाई बढावा गर्नको लागि नेपाली परम्परा लुतो फाल्ने कार्यक्रम गर्न लागेको हो ।

समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट हेर्न सकिन्छ । यहाँ पर्यटकीय गन्तव्यका रुपमा पर्याप्त सम्भावना बढ्दै गएको र गत वर्ष आङ तेङ्बा शेर्पाले स्थानीय बोकेडाडाबाट प्यराग्लाइडिङ गरेका कारण अहिले त्यसको व्यावसायिक प्रयोजनका लागि सम्भाव्यता अध्ययन भइरहेको स्थानीयहरुको भनाई रहेको छ ।

स्थानीय गाउँलाई ‘प्राङ्गरिक गाउँ’ को रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा करिब ११० रोपनी क्षेत्रफलमा फैलिएको हाउसले ‘होम स्टे’समेत हालै सञ्चालनमा ल्याएको छ ।

हाल पञ्चकन्या गाउँपालिका तथा साविक पञ्चकन्या गाविस–१ मा पर्ने उक्त क्षेत्रका समाजसेवी तथा पूर्व गाउँपालिका अध्यक्ष राम थापाले बाँस र काठजन्य सामग्रीबाट निर्माण गर्नुभएका १० घरमा करिब एकसय जनाले एकैसाथ अटाउनसक्ने बताए ।

उक्त स्थान पर्यटकिय हिसाबले अत्यन्त रमणीय स्थान भएकोले नेपाली संस्कृतिलाई जगेर्ना गर्न र यो पहिचान लोप हुन लागेको मनन गरि कार्यक्रम गर्न लागिएको थापाले बताए । हामिले लुतो फाल्ने गरेको तर आजका युवाहरुलाइ कुन–कुन र कस्तो प्रकारको सामान जुटाउनुपर्ने भन्ने केही जानकारी नभएको पनि बताए ।

हाउसका सञ्चालक थापाले पछिल्लो समयमा उत्पादन वृद्धि गर्ने नाममा विभिन्न हानिकारक रसायनको प्रयोग गरी विषादीयुक्त खाद्य सामाग्री फलाएका कारणले विभिन्न रोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपाली समाजको परम्परागत मौलिकता भएको स्थानीय कृषि वस्तुको खेतीलाई पुनः प्राङ्गरिक बनाउन आफूले अभियान शुरु गरेको बताउनुभयो ।

अग्लो उचाइमा रहेको त्यस क्षेत्रमा भएका धेरै टारी खेतमा फल्ने स्थानीय चामललाई प्रांगरिक उत्पादनका रुपमा विकास गर्न सकिने देखिएको छ । गाउँपालिकामा करिब तीन हजार ५०० जनसंख्या छ ।

परापूर्बकालमा तिब्बतसँग आर्थिक कारोबार गरिँदै आएको मानेभञ्ज्याङ पुरानो व्यापारिक नाकाका रुपमा त्यसै क्षेत्रमा अवस्थित छ । त्यस क्षेत्रलाई प्राङ्गरिक गाउँ बनाउन सकेमा कृषि पर्यटन विकासका लागि पर्याप्त अवसर रहेकाले स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी पूर्वाधारको संरचना तयार गर्नुपर्ने स्थानीयवासी स्थानीय समाजसेवि थापाले उक्त हाउसमा अर्गानिक तरकारी तथा फलफुल खेति गर्नुको साथै क्यानोनिङ, पंक्षिहरुको खोज तथा अनुसन्धान गर्नपनि उपर्युक्त रहेको जानकारी गराए ।

काठमाडौँको नयाँ बसपार्क गोंगवुबाट मानेभञ्ज्याङसम्म सार्वजनिक बस सेवा सञ्चालन हुने गरेको भएपनि स्थानीय छहरेबाट अगाडि बढेपछि कच्ची सडक हुँदै करिब २० किलोमिटर माथिसम्म जानुपर्ने बाध्यता रहेको छ ।