प्रस्तावित प्रधानन्यायाधीविरुद्ध उजुरी आह्वान

1081
views

काठमाडौँ, २९, असार । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको बैठकले शुक्रबारदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् ।

संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । घिमिरेले भन्नुभयो, ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ । हामीले शुक्रबारदेखि सुरु हुनेगरि दश दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौँ ।’

उजुरी समिति सचिवालयमा दर्ता गर्न वा इमेलबाट दिन पनि मिल्नेछ । समितिले उजुरी अध्ययन गरेपछि उजुरीकर्तासँग पनि छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ ।

संवैधानिक परिषद्ले जेठ २९ गते प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस गरेको थियो । यसैवीच समितिको बिहीबारको बैठकले सुनुवाइको कार्य्विधि पारित गरेको छ । समितिले कार्य्विधिमा सुनुवाइसम्बन्धी यसअघिका व्यवस्थालाई नै निरन्तरता दिएको छ ।

कुनै पनि पदाधिकारीलाई समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा स्वीकृत हुने व्यवस्था गरेको छ । यस्तै, समितिमा सुनुवाइका लागि पत्र प्राप्त भएका मितिले ४५ दिनभित्र सुनुवाइ सम्पन्न गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।सुनुवाइ नभए नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था गरिएको छ ।