नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन आग्रह

1049
views

काठमाडौं, साउन– १ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्गलबार साउन १ गतेबाट ७७ वटै जिल्लामा सुरु हुने नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

उहाँले स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावली नाम नभएका नागरिकहरूलाई नाम दर्ता गरेर मतदानमार्फत सार्वभौमसत्ताको प्रयोग गर्न अनुरोध गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आयोजना गरेको ‘अपाङ्गमैत्री निर्वाचन अध्ययन पर्यवेक्षण सार्वजनिक’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. यादवले अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन अपाङ्गता भएका नागरिकहरूसँग विशेष आग्रह पनि गर्नुभयो ।
प्रमुख आयुक्त यादवले ‘नेपालको निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच’ नामक प्रतिवेदनसमेत सार्वजनिक गर्नुभयो । गत वर्ष भएका निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा ९३ प्रतिशत मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताले पर्याप्त गोपनीयताका साथ मतदान गर्न सक्षम भएको उल्लेख छ ।
महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले संविधानमा अपाङ्गता भएका व्यक्तिको अधिकार जति सुरक्षित गरिएको छ तर निर्वाचन ऐनहरू बन्दा सोचेजस्तो अपाङ्गमैत्री नभएको गुनासो गर्नुभयो भने उपाध्यक्ष टीका दाहालले राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको सहभागिता राम्रो रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का महासचिव डा. गोपालकृष्ण सिवाकोटीले राजनीतिक दलको आन्तरिक लोकतन्त्रमा समेत विविधता र समावेशिता झल्किनुपर्छ भन्नुभयो ।