डा. केसीका प्रतिनिधिहरुले सरकारी पक्ष पेलेर जान लागेको आरोप

997
views

काठमाडौँ साउन –१ आमरण अनशनमा रहेको डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीच मंगलवार औपचारिक वार्ता हुन सकेको छैन ।

सरकारी वार्ता टोली बनेपछि उत्साही देखिएको डा. केसीका प्रतिनिधिहरुले सरकारी पक्ष पेलेर जाने रणनीतिमा रहेको आरोप लगाएका छन् ।
आज बिहान ९ बजेदेखि नै दोस्रो चरणको वार्ता गर्ने भनेर जम्मा भएपनि दिउँसो १ बजेसम्म औपचारिक वार्ता सुरु नभएको प्रतिनिधिहरुको भनाई रहेको छ ।
“आज विहान ९ बजेदेखि सरकारी पक्षसंग बस्दा समेत वार्ताको न्युनतम् वातावरणसमेत बन्न सकेन”, छलफलमा संलग्न डा. अभिषेक राज सिंहले भने “सरकारले पेलेर जाने रणनीति लिएको देखिन्छ ।”
सरकारी पक्ष डा. केसीलाई काठमाडौं ल्याउने कुरामा मात्र अल्झिएको र शिक्षा विधेयक संसदबाट फिर्ता लिएर वार्ताको न्युनतम् वातावरण बताउनमा कुनै चासो नदेखाएको उनको गुनासो छ ।
सोमवार अवेर रातीसम्म पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मंगलवार पुन: छलफल जारी राख्ने सहमति भएको थियो ।
सोमवारको छलफलमा समेत सरकारी पक्षले डा. केसीलाई काठमाडौं ल्याएर उपचार गराउने कुरा राखेको थियो भने डा. केसीका प्रतिनिधिहरूले संसदबाट चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए ।
सरकारद्वारा शिक्षा सचिव खगराज बराल नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य र गृह मन्त्रालयका उपसचिव समेतको संलग्नता छन् ।
डा. केसीका प्रतिनिधिको रूपमा डा. अभिषेक राज सिंह, अधिवक्ताद्वय ओमप्रकाश शर्मा र सुरेन्द्र भण्डारी तथा प्रितम सुवेदी, चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव डा. लोचन कार्कीलगायत रहनुभएको छ ।