(ने क पा) को प्रतिनिधिका रूपमा भाग लिन सबैले भूगोलबाट निर्वाचित हुनुपर्ने

976
views

काठमाडौँ, साउन २ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को महाधिवेशन प्रतिनिधिका रूपमा भाग लिन सबैले भूगोलबाट निर्वाचित हुनुपर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको ने क पाको छैठौं सचिवालय बैठकद्वारा प्रकाशनको अनुमति पाएको विधानमा पार्टीको महाधिवेशन प्रतिनिधि चयन हुन निर्वाचित हुनुपर्ने व्यवस्था गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
उहाँले मङ्गलबार बसेको सचिवालय बैठकमा पार्टीको विधानलाई प्रकाशन गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । विधानमा गरिएको यो व्यवस्थाअनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका सबै उच्च नेताले समेत महाधिवेशन प्रतिनिधि बन्नका लागि अनिवार्य रूपमा आ–आफ्नो भूगोलबाट प्रतिनिधि निर्वाचित भएर आउनु पर्ने हुन्छ ।
तत्कालीन नेकपा (एमाले) ले लामो समयदेखि प्रतिस्पर्धाको आधारमा नै महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दै आएको थियो । सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले केही समययता सरकारद्धारा गरिएका कामकारवाही र निर्णयबारे जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी, बैठकमा प्रधानमन्त्री ओलीले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता समिति गठन गरिएको जानकारी समेत दिनुभएको थियो ।
पार्टीले पारित विधान र नियमावली अनुसार सङ्गठनात्मक एकीकरणको काम छिटोभन्दा छिटो अगाडि बढाउने निर्णय गरिएको जानकारी समेत प्रवक्ता श्रेष्ठले दिनुभयो । निर्णय अनुसार प्रदेश कमिटि, जिल्ला कमिटि र जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटिहरू छिट्टै नै गठन गर्नुपर्ने जानकारी उहाँले दिनुभयो ।
सचिवालय बैठकमा पार्टीको विभिन्न कार्ययोजनाबारे छलफल भएको जानकारी दिंदै उहाँले बैठकले पार्टीको विधान अनुमोदन गरेको बताउनुभयो ।