नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउन जोखिम नलिने

1311
views

चितवन, साउन ५ नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो ।

पुल भासिएको वा सडक भासिएको ठाउँमा अहिले ‘वान वे’ (एकोहोरो ) तरिकाले सवारी साधन सञ्चालन गरिएको छ । यो वर्षाद्को सिजनभरि नै जारी रहने छ ।
 सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ । यस्तो वेला पहाडको चट्टान काट्न लाग्यो भने पहिरोको जोखिम बढी हुन्छ सडक डाइभर्सनमा देखिने चुनौतीबारेऔँल्याउँदै प्रमुख विसुरालले भन्नुभयो ।
निर्माणकै क्रममा रहेको नारायणगढ —मुग्लिन सडकको काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको छ भने मुग्लिन नजिकै पर्ने खहरे खोला पुल पनि सडक छेउबाट भासिएको छ ।
सडक भासिएसँगै भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञहरूको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै पुरिएको माटोमाथि सडक विस्तार र तलवाट त्रिशूली नदीको कटान भएकै कारण सडक भासिएको जनाउँदै नयाँ ठाउँमा डाइभर्सन वनाएर सडक सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । तर आयोजनाले भने वर्षाद्को सिजनमा पहाड काटेर डाइभर्सन वनाउन नसकिने जनाएसँगै यो सडकमा यात्रा गर्ने यात्रुले थप हैरानी ब्यहोर्नुपर्ने भएको छ ।
“डाईभसन नभई सडक ‘वानवे’ हुँदा दैनिक ट्राफिक जामको समस्या छ । अझै माथिबाट पहिरो खस्यो भने त झनै जटिल छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वेद गौतमले भन्नुभयो, “सडक जति सक्यो छिटो मर्मत सुधार गर्न सक्ने हो भने यात्रुले सहज यात्रा गर्न सक्ने छन् ।”
एकदिन अघिमात्रै १७ किलोमा सडक भाँसिदा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । पछिल्लो समय यो क्रम जारी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा रहेको तथ्याङ्क अनुसार गत जेठ २८ गते यता विभिन्न मितिमा १७ स्थानमा पहिरो खस्दा ७६ घण्टा १० मिनेट सडक अवरुद्ध भएको छ । खुलेकै वेला पनि पहिरो खसेको क्षेत्रमा वानवे हुँदा यात्रुले हैरानी ब्यहोर्नुपर्ने अवस्था छ ।
नारायणगढवाट १७ किलो मिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्वाई र सात मिटर सडक भाँसिने गरि चिरिएको छ । यो मात्रा वढेर अझै ७० मिटर लम्वाई र ८ मिटर चौडाइ सम्म पुग्ने विज्ञहरुको अनुमान छ ।यस सगै सडक चिरिएर भासिने अवस्था पुगेको भतेरी ओरालोमा सडक छेउको प्याराफिट भासिने अवस्थामा छ । यो दुवैको मर्मत सुधार हुन सकेको छैन ।
सडकसँगै पुल नै भाँसिन थालेपछि भने यो सडकको यात्रा जोखिम वढेको छ । सडकमा रहेका १८ वटा पुल सवै जीर्ण रहेपनि आयोजनाले मर्मत सुधार गर्न सकेको छैन । “१८ मध्ये ४ वटाको पुनःनिर्माणको काम शुरु भइसकेको छ अरु बाँकीका लागि वजेटको व्यवस्था भइसकेको छैन”, उहाँले भन्नुभयो ।
सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनःनिर्माणको काम भइरहेको नारायणगढ मुग्लिन सडक विस्तारको काम अन्तिम चरणमा पुगेका वेला सडक भाँसिने र पुल भाँसिने समस्या देखिएको छ । यसका साथै सडक माथिवाट देखिएको ३१ स्थानको पहिरो जोखिम क्षेत्र सडकको थप जोखिम हो ।
दैनिक दश हजारका हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्ने यो सडकमा यात्रा गर्ने लाखौ यात्रु अहिले पनि जोखिम नै मोलेर यात्रा गर्न वाध्यछन् ।
नारायणगढ —मुग्लिन सडक आयोजनाले स्थानिय प्रशासनलाइ पत्र लेखेर यो सडकमा कन्टेनर चलाउन रोक लगाएको छ । नारायणगढ मुग्लिन सडकको क्षमता साढे दुई मिटर चौडाईका सवारी साधन मात्रै चल्न मिल्ने भएपनि अहिले ३.६ मिटर चौडाई सम्मका कन्टेनरहरु चल्दा सडकमा समस्या भएको आयोजनाले जनाएको छ ।
लामा कन्टेनरहरुले साघुरा पुल पार गर्दा मोड नपुगेर पुलका रेलिङ्गहरु भाँचिएका छन् । ट्राफिक समस्या पनि यस्ता सवारी साधनले वढी नै गरेको छ ।
साउन १ गतेवाट दिउँसोमा यो सडकमा कन्टेनरहरु सञ्चालनमा रोक लगाएको हो । आयोजनाको अनुरोधमा ट्रफिक प्रहरीले कन्टेनर सञ्चालनमा रोक लगाएको हो ।