पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस देशव्यापी मनाइँदै

2692
views

काठमाडौं, साउन– ७ नेपाल कम्युनिष्ट पार्टी का संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस सोमबार देशव्यापी मनाइँदैछ । राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००६ वैशाख १० मा श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

राणाशासनको निरंकुशता परास्त गर्ने र मुलुकमा समृद्धि र विधिको शासन कायम गर्ने उद्देश्यसाथ नेता श्रेष्ठले छिमेकी मुलुक भारतको कलकत्तामा वाम शक्तिको परिकल्पना गर्नुभएको थियो । उहाँलाई निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ ले साथ दिनुभएको थियो ।
कम्युनिष्ट पार्टी स्थापना गर्दा नेता श्रेष्ठले पार्टीलाई नेताभन्दा नीतिप्रधान बनाउने सोच अगाडि बढ्नुभयो । श्रेष्ठले नागरिक स्वतन्त्रताका लागि ‘क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउँ’ भन्ने पर्चा जारी गर्नुभएको थियो । सोही पर्चा नै कम्युनिष्ट पार्टीको प्रथम पर्चाकोरूपमा परिचित छ । नेकपाको स्थापनापछि १५ सेप्टेम्बर १९४९ मा पहिलो घोषणापत्र जारी गरिएको थियो ।
बुद्धिजीवी मोदनाथ प्रश्रितले संस्थापक नेता श्रेष्ठ दुरदर्शी र त्यागी भएको विश्लेषण गर्नुहुन्छ । श्रेष्ठले आफ्नो जीवन नै परिवर्तनका लागि संघर्षमा विताउनुभएको स्मरण गर्दै उहाँले १० वर्ष श्रेष्ठसँगै रहेर कम्युनिष्ट आन्दोलनमा सहयोग गरेको स्मरण गर्नुभयो । ‘नेता पुष्पलाल पदलोलुपता नभएको, तत्काल निर्णय गर्नसक्ने, अध्ययनशील र विनम्र हुनुहुन्थ्यो, उहाँले भन्नुभयो । अहिलेका नेताले पुष्पलालको आदर्शलाई पछ्याउन सके नेपाली कम्युनिष्ट अभियानले अझै उचाइ चुम्नेछ, विश्लेषक प्रश्रितले भन्नुभयो ।
नेता श्रेष्ठ दाजु गंगालाल श्रेष्ठबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो विश्लेषक प्रश्रीतले जानकारी दिनुभयो ।
कम्युनिष्ट नेता भरतमोहन अधिकारीले पुष्पलाललाई वाम आन्दोलनका शिखर पुरुषको संज्ञा दिनुभयो । पुष्पलालकै योगदानका कारण कम्युनिष्ट आन्दोलनले उचाइ पाएको बताउँदै उहाँले पुष्पलालको बाटोलाई अङ्गालेमात्र कम्युनिष्ट आन्दोलन सफल हुने र देशमा समृद्धि कायम हुने दावी गर्नुभयो ।
पुष्पलाल जीवनभर निरंकुशताका विरुद्ध लड्नुभयो, नेता अधिकारीले भन्नुभयो, ‘समृद्ध नेपाल र सुखी नेपालीको सपना पुष्पलालको हो, अहिलेको नेतृत्वले त्यो सपना साकार पार्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ ।’
नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले पुष्पलाल जस्ता त्यागी र उच्च स्थान बनाएको नेता नेपाली कम्युनिष्ट आन्दोलनमा नभएको बताउनुभयो । पुष्पलालले देखेको सपनाअनुसार नै अहिले कम्युनिष्ट आन्दोलन अगाडि बढेको भन्दै नेता श्रेष्ठले समृद्ध नेपालको अभियान सफल भएमा पुष्पलालप्रति सच्चा श्रद्धान्जलि हुने बताउनुभयो । नेकपाले सोमबार देशभर नेता पुष्पलालको स्मृतिमा स्मृतिसभा मनाउँदैछ ।