मधेसको समस्याप्रति नेताहरू गम्भीर भएनन्–पूर्वराष्ट्रपति यादव

1928
views

काठमाडौ, ७ साउन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुख्य राजनीतिक दलका नेताहरु मधेसको समस्याप्रति गम्भरि नभएको बताएका छन् । यालवले मुख्य राजनीतिक दलका नेताहरुले मधेस बुझ्न नसक्दा संविधानमा देखिएको समस्या पनि समाधान हुन नसकेको बताए । उनले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

पूर्व राष्ट्रपति यादवले संविधानसभाबाट संविधान जारी गर्ने वेलामा मधेसको समस्या समाधान गर्न आफुले सम्झाएको बताउँदै भने, ‘त्यतिवेला मधेसको समस्या समाधान गर्नुस् भन्दा मलाई अरूको इसारामा चलेको आरोप लगाइयो । अहिले त्यसवेलाको परिस्थिति नबुझ्दा दलहरूले संविधानका विषयमा झमेला बेहोरिरहेका छन् ।’

तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई आफूले जति सम्झाउँदा पनि नबुझेको गुनासो उनले गरे । ‘कांग्रेसका नेताले मधेस नबुझ्दा गत निर्वाचनमा कांग्रेसको मधेसमा बेहाल भयो,’ यादवले भने । ‘सुशीलजी, म तपाईंको कुलबाट आएको व्यक्ति हुँ, मलाई त विश्वास गर्नुस् भनेँ,’ विगत सम्झँदै यादवले भने, ‘तर, उहाँले मान्नुभएन । त्यसैको फल कांग्रेसले गत निर्वाचनमा मधेसबाट बेहोर्यो ।’

पार्टी नेतृत्व परिवर्तन गर्न माग
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्रीहरू विनयध्वज चन्द, गोविन्दराज जोशीलगायतले कांग्रेसको अहिलेको नेतृत्व रहिरहे पार्टी इतिहास बन्ने भन्दै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले बिपी विचार राष्ट्रिय समाजले प्रकाशन गरेको ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग–२’ पुस्तकको विमोचनसमेत गरे । पुस्तकमा बिपीको परराष्ट्र नीति, अर्थ नीति, साहित्य र राजनीतिक पाटोका विषयमा अनुसन्धानात्मक लेखहरू समावेश छन् ।