पुरानो रेकर्ड तोड्दै डा. केसीको अनशन २४ औं दिनमा

733
views

काठमाडौ, ७ साउन । चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राख्दै अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले पुराना सबै रेकर्ड तोडेका छन् । केसीको आमरण अनशन सोमबार २४ औं दिनमा प्रवेश गरेको छ । १५औं पटकको उनको यो अनशन अहिलेसम्मकै लामो बन्यो ।

यसअघि डा. केसीले सबैभन्दा बढी २३ दिनसम्म मात्र अनशन बसेका थिए । ११औं अनशनअन्तर्गत उनले गत वर्ष साउनमा २३ दिन लामो अनशन बसेका हुन् । अनशन बसिरहेकै बेला देशमा बाढीपहिरोले ठूलो धनजनको क्षति हुन थालेपछि उनले अनशन स्थगित गरेका थिए ।

गत असार १६ गतेदेखि जुम्लामा अनशन बसिरहेका डा. केसीलाई सरकारले बलपूर्वक गत बिहीबार काठमाडौं ल्याएको थियो । अहिले डा. केसी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनशन बसिरहेका छन् । सरकारले संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले राख्दै आएका छन् ।

सरकारले संसद्मा दर्ता गराएको विधेयकमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी पनि सम्बन्धन दिन सक्ने, काठमाडौं उपत्यकामा पनि मेडिकल कलेज खोल्न मिल्ने तथा अस्पताल सञ्चालन गर्नेबित्तिकै मेडिकल कलेज खोल्न मिल्ने व्यवस्था गरिएको छ । डा. केसीले भने यस विपरीतको माग राख्दै आएका छन् ।

डा. अभिषेकराज सिंहको संयोजकत्वमा डा. केसीको वार्ता टोली बनेको छ भने शिक्षा सचिव खगराज बराल नेतृत्वमा सरकारी वार्ता टोली बनाइएको छ ।

केसी पक्षले पहिले संसदबाट शिक्षा विधेयक फिर्ता लिएर मात्र वार्तामा बस्ने अडान लिँदै आएको छ भने सरकारले पनि विधेयक फिर्ता लिने संकेत गरेको छैन । दुई पक्षको आ–आफ्नै अडानका कारण वार्ता अघि बढ्न सकेको छैन ।

डा. केसीको समर्थनमा नागरिक समाजका अगुवाहरू समेत सडकमा उत्रिएका छन् । उनीहरू आइतबारदेखि काठमाडौंको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रहमा बसेका छन् । सामूहिक सत्याग्रह सोमबार पनि बिहान १० बजेदेखि जारी रहने उनीहरूले बताएका छन् ।