प्रशासकीय अधिकृतको मनोमानी, काल्पनिक योजना बनाएर लाखौं भुक्तानी

1712
views

अजय पौडेल नवलपुर, साउन – ७ कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जनप्रतिनिधिलाई समेत नटेर्दै आफ्नो मनोमानी गर्न थालेपछि नगरवासी आक्रोशित भएका छन् ।

नगरपालिकाले जनताको ढाड सेक्ने गरी कर असुलेको, विकास–निर्माणको काम र ठेकेदारसँग कमिसन लिने गरेको, काल्पनिक योजना बनाएर लाखौं भुक्तानी दिएको सर्वसाधारणको आरोप छ । यसमा प्रत्यक्षरुपमा ज्ञवालीको संलग्नता रहेको जनप्रतिनिधिको भनाइ छ । त्यतिमात्र होइन मापदण्ड र प्रक्रिया पूरा नगरी कर्मचारी भर्ना गरेको, अनावश्यक जिन्सी सामान खरिदमा नगरपालिकालाई आर्थिकभार पारेको, शिक्षकहरूप्रति दुव्र्यवहार गरेको र भुक्तानी दिनुपर्ने योजना कमिसन नपाएपछि प्रमुख ज्ञवालीले रोकेको जनआक्रोश छ । कावासोती नगरपालिकाको नीति तथा कार्यक्रममा पकेटका मान्छे हेरेर बनाइएको, विज्ञ समूहसँग परामर्श नगरिएको, कमिसन हातलाग्ने योजना बनाउँदा कतिपय क्षेत्र बजेट बिहिन भएको नगरवासीले गुनासो गरेका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा एक जनप्रतितिनिधिले भने, ‘ज्ञवाली मनोमानी ढंगले काम गर्छन्, उनले जनप्रतिनिधिले ल्याएका जायज योजना समेत अस्वीकार गरेका छन्’ । उनले थपे, ‘जनताको बीचमा हामी जानुपर्छ प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली कमिसनको चक्करमा काम गर्छन् । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नमिल्दा विकास निर्माणका कामहरुमा ढिलाइ भएको उनको आरोप छ ।
नगरपालिकाले अनाधिकृत व्यक्ति विशेषलाई सवारीसाधन उपलब्ध गराएको, प्रदेशस्तरका कार्यक्रममा समेत सरोकार नभएका व्यक्ति लैजाने र तिनीहरूको खर्च पनि ब्यहोर्ने गरेको, पदीय हिसाबले आफू मुनिका कर्मचारीलाई हप्काउने गरेको जस्ता
गम्भीर आरोप प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नगरकार्यपालिकामै कार्यरत कर्मचारीहरूलेनै आरोप लगाएका छन् ।
स्थायी सरकारको रूपमा रहेका प्रशासकीय अधिकृतले कतिपय सवालमा प्रमुखलाई समेत गलत सल्लाह दिएर हाउगुजी देखाउने गरेको नगर–कार्यपालिकाको सदस्यहरूले उल्लेख गरेका छन् ।