डा. केसीलाई काँग्रेसको सभापति बनाए हुन्छ – पृथ्वी सुब्बा गुरुङ

1113
views

प्नकाश सापकाेटा नवलपुर, साउन ७ प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले डा. गोविन्द केसीलाई काँधमा बोकेर नेपाली काँग्रेसले च्याँखे थापेको आरोप लगाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृती सभालाई नवलपुरको कावासोतीमा सोमबार सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले डा. केसीलाई च्याँखे थाप्दैमा सरकारको रौं पनि नहल्लिने जिकिर गर्नुभयो ।

 

उहाँले एक दुर्इ व्यक्तिलाई उचालेर सडकमा आन्दोलन गर्दैमा माग पुरा नहुने बताउनुभयो ।
अब नेपालमा कम्युनिष्ट सरकार २५ वर्षसम्म टिक्ने प्रष्ट पार्नुभयो । नेपाली काँग्रेस अहिले नेतृत्वबिहिन भएको टिप्पणी समेत गर्नुभयो । ‘काँग्रेसको नेतृत्व अहिले संकटमा छ अब डा. गोविन्द केसीलाई चिकित्सक पेशाबाट राजीनामा गर्न लगाएर काँग्रेसकै सभापति बनाएर राखे हुन्छ ।’ कम्युनिष्ट सरकारले जनजीविकाका सवालमा राम्रो गर्दै गईरहेकाले काँग्रेस अत्तालिएको गुरुङको भनाई छ ।
सबै निजि स्वास्थ्य संस्थाहरुलाई दुईदिन भित्रै राष्ट्रियकरण गर्न सकिने भएपनि यो सरकार व्याक्तिगत पुँजीको संरक्षणमा पनि उत्तिकै संवेदनशिल रहेको स्पष्ट पार्नुभयो । शिक्षालाई सेवादिने र ज्ञान सिक्ने नभै नाफा कमाउने सस्था बनाउने काम काँग्रेसले गरेको आरोप लगाउँदै गुरुङले विधिको शासन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका विषयमा काँग्रेसले पाठ सिकाउन नपर्ने बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले नवलपुर गण्डकी प्रदेशको एउटा मुहान र दक्षिण ढोका भएको बताउनुभयो । उहाँले नवलपुर दक्षिण ढोका र कोरला नाका उत्तरी ढोका भएको भन्दै दुवै ढोकालाई बलियो बनाए मात्रै सम्वृद्व गण्डकी प्रदेश बन्ने बताउनुभयो । नवलपुरलाई सम्वृद्व बनाउनमा कुनै पनी कमी नगर्ने प्रदेश सरकार लागिरहेको बताउदै गुरुङले यस क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्न आफू प्रतिवद्व रहेको विश्वास दिलाउनुभयो । उहाँले गण्डकी प्रदेशका कुन क्षेत्रमा बिजुली बत्ती पुगेको छैन त्यस ठाउँको खाका लिएर आए दुई वर्षभित्र बिजुली बालेरै छाड्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य तिलक महतले ५ वर्षसम्म प्रतिक्षा गरेर बस्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । जनताले ५ वर्षका लागि जनमत दिएर पठाएको सरकार भएकाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेर ५ वर्ष सम्म बस्न सुझाव दिए ।
त्यस्तै पार्टीका केन्द्रिय सदस्य किशन शर्मा गैरेले दुई कम्युनिष्टहरु एक भएको देखेर काँग्रेस अत्तालिएको भन्दै दुबै पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।