प्रधानसेनापतिद्वारा नवनिर्मित अस्पतालको उद्घाटन

861
views

बाँके, ८ साउन । बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा ५० बेड क्षमताको नवनिर्मित सैनिक अस्पतालको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गर्नुभएको छ ।

बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्घाटन गर्नु भएको हो ।

सो अस्पतालको भवन १४ रोपनी ८ आना क्षेत्रफल रहेको नेपाली सेनाले जनाएको छ । अस्पतालमा जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिनुको साथै एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको छ ।

सोही क्रममा महारथी क्षेत्रीले बांके जिल्लामा तैनाथ श्री श्रीमेहर गण, नंं.४ बाहिनी अड्डा तथा डोटी जिल्लामा तैनाथ श्री सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले उक्त पृतना, बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।