डा. केसीले उठाएका विषयमा कुनै विवाद नरहेकोले अनशनलाई छिटै अन्त्य गर्नुपर्ने धारणा

826
views

कठमाडौँ, साउन– ९ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ले अनशन बसिरहनुभएका डा. गोविन्द केसीका मागलाई सम्बोधन गर्न उच्चस्तरीय संयुक्त पहल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले समस्यालाई लम्बिन नदिन उच्चस्तरीय प्रयास भएको जानकारी दिनुभयो । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहनुभएका प्रम ओली र दाहालले मंगलबार माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा धर्मकान्त बाँस्कोटासँग छलफल गर्नुभएको थियो ।
नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्तालाई सहजीकरण गर्नुभएको थियो । छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले डा. केसीको मागमा आफूहरू सकारात्मक रहेको जानकारी दिनुभएको बताउनुभयो ।
सबैभन्दा पहिले डा. केसीको स्वास्थ्य स्थितिबारे ध्यान दिनुपर्छ भन्नेमा उहाँहरू केन्द्रित हुनुहुन्छ, डा. बाँस्कोटाले भन्नुभयो, केसीले उठाएका विषय र सरकारको उद्देश्यबीच कुनै भिन्नता नरहेकोमा पनि उहाँहरु प्रष्ट हुनुहुन्छ ।
चिकित्सा शिक्षा विधेयक संसद् प्रवेश गरिसकेको तथा सार्वभौम संसद्लाई अपमान नगर्ने किसिमले जे जे विषयमा परिवर्तन गर्न सकिन्छ परिवर्तन गर्न सकिने धारणा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले बैठकमा राख्नुभएको थियो । डा. केसीले उठाएका विषयमा कुनै विवाद नरहेकोले अनशनलाई छिटै अन्त्य गर्नुपर्ने धारणा उहाँहरूले राख्नुभएको जानकारी दिँदै डा बाँस्कोटाले भन्नुभयो, ‘उहाँहरूले अब अर्को अनशन नहुने गरी डा. केसीको मागलाई टुङ्ग्याउन चाहनुभएको हामीलाई जानकारी दिनुभयो ।’
छलफलमा नेकपाका अध्यक्ष प्रचण्डले सरकार र डा. केसीको उद्देश्य एउटै भएको तर उहाँको अनशनलाई लिएर केही संघसस्था र केही राजनीतिक दलले अराजकता मच्चाउन खोजेकोले यसलाई चाँडै टुङ्ग्याउनुपर्ने बताउनुभएको थियो ।
माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाले नेकपाका अध्यक्षद्धय ओली र दाहाल डा. केसीको मागमा अत्यन्त सकारात्मक भएको आफूले पाएको जानकारी दिनुभयो । उहाँहरू डा. केसीका माग पुरा गराउन सकारात्मक हुनुहुन्छ माथेमाले भन्नुभयो, ‘डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल भइसकेकोले यसलाई लम्बाउने पक्षमा उहाँहरु हुनुहुन्न ।’
‘डा. केसीले चिकित्सा क्षेत्रमा गुणस्तरको कुरा उठाउनुभएको छ, गुणस्तरमा सम्झौता गर्ने पक्षमा हामी पनि छैनौँ,’ अध्यक्षद्धयलाई उदृत गर्दै माथेमाले भन्नुभयो, ‘उहाँहरूको कुरा सुन्दा मलाई धेरै नै सकारात्मक हुनुहुन्छ जस्तो लाग्यो ।’
हामीले पनि चिकित्सा क्षेत्रमा गुणस्तरको कुरा उठाएका थियौं, माथेमाले थप्नुभयो, प्रधानमन्त्री र प्रचण्डलाई हामीले चिकित्सा शिक्षाको गुणस्तर र पहुँचको विषयमा विशेष जोड दिएर छलफल गरेका छौं । गरिब , जेहन्दार विद्यार्थीले पनि चिकित्सा क्षेत्रमा पहँुच पाउनुपर्छ र गाउँका मानिसको पनि चिकित्सा सेवामा पहँुच हुनुपर्छ भन्ने हाम्रो धारणा बैठकमा उहाँहरुसँग राख्यौं ।
प्रधानमन्त्री ओली र प्रचण्डले त्यस्तो ठूलो असहमति कहीँ पनि देखाउनुभएन त्यसैले सकभर चाँडै वार्ता टुंगिनसक्ने माथेमाको भनाइ छ । सुरुमा जुम्ला र पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनमा रहनुभएका डा. केसीले माथेमा कार्यदलको आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्छ भन्ने माग गर्नुभएको छ ।
सरकारले अध्यादेशमा हेरफेर गरेर चिकित्सा विधेयक संसदमा लगेपछि डा.केसी अनशन बस्नुभएको हो । अध्यादेशले राजधानी काठमाडौँमा आगामी १० वर्षसम्म नयाँ मेडिकल कजेज खोल्न रोकेको थियो भने विधेयकमा त्यस्तो प्रावधान हटाइएको छ ।
उहाँहरूको मुड हेर्दाखेरी डा. केसीको समस्या तत्काल समाधान हुने मैले देखेको छु, माथेमाले भन्नुभयो । हामीले किन काठमाडौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्नका लागि नदिने भनेका हौ, त्यो विषयमा प्रष्टसँग उहाँहरूसँग कुरा राखेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. अर्यालले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको पहलमा भएको वार्ता छिट्टै सफल हुने विश्वास व्यक्त गर्नुभयो । गृहकार्य गरेर वार्ता भएकोले सफल हुने वातावरण बनेको छ, उहाँले भन्नुभयो ।

डा. गोविन्द केसीले उठाउनुभएका अधिकांश मागमा वार्ता सहमति नजिक पुगेको छ । २५ दिनदेखि अनसनमा बसिरहनु भएका केसीको माग सम्वोधन गर्नका लागि सरकारी वार्ता टोली र केसी पक्षबीच मंगलबार रातीसम्म वार्ता भएको थियो ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साढे तीन घण्टा चलेको वार्तामा डा. केसीले उठाएका अधिकांश माग पुरा गर्न सरकार सकारात्मक भएको बताइएको छ । बाँकी विषयमा बुधबार बिहान छलफल गरी वार्तालाइए टुंगोमा पु¥याउने सहमति भएको छ ।
सरकार र केसी पक्षका वार्ताटोलीका संयोजकले धेरै विषयमा समझदारी नजिक पुगेको र बाँकी विषय बुधबार बिहान बैठक बसी टुंग्याउने निर्णय भएको विज्ञप्तीमा जारी गरेर जानकारी दिएका छन् ।
सरकारी वार्ता टोली संयोजक तथा शिक्षा सचिव खगराज बरालले वार्ता सकारात्मक दिशातर्फ अघि बढेको जानकारी दिनुभयो । डा. केसी पक्षका संयोजक डा. अभिषेकराज सिंहले वार्ता निष्कर्ष नजिक पुगेको जानकारी दिनुभयो ।