चितवनमा झडप, प्रहरीले गोली चलाउँदा रिक्साचालक घाइते

1102
views

अजय पौडेल नवलपुर साउन–९  चितवनको भरतपुर बसपार्कचोकमा बुधबार प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

घाइते हुनेमा नवलपुर, गैंडाकोट–४ का ३० वर्षीय रिक्साचालक महेन्द्र सुनार रहेका छन् । उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तीनपांग्रे सवारी व्यवसायी प्रदर्शनमा उत्रिँदा झडप भएको हो । सोहीक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । झडपमा दुई प्रहरीजवानसमेत घाइते भएका छन् । घाइते हुनेमा हर्कबहादुर दराई र नेत्र बुढाथोकी रहेका प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका तीनपांग्रे सवारी व्यवसायीले एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै एउटा म्याजिक भ्यानसमेत तोडफोड गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो । तीनपांग्रे सवारी–साधनका विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा प्रदर्शन गरेका हुन् । यद्यपि, अहिले स्थिति सामान्य भइसकेको जनाइएको छ । भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्ग र सहरी क्षेत्रमा सन्चालन गर्न रोक लगाउने निर्णय गरेको थियो ।