आदर्श माविका विद्यार्थीद्वारा गुरुपूर्णिमामा गुरुको सम्मान

1735
views

आर्दश डेष्क, ११, साउन । नेपाली पात्रो अनुसार हरेक बर्ष आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा अर्थात गुरु पूजा र गुरु व्यास पूजाको रुपमा गुरुलाई पुज्ने गरिन्छ ।

‘गुरु र ब्रम्हा, गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम ब्रम्हा तस्मै श्री गुरुबे नमह भन्ने वाणीलाई सदैव आत्मसात गर्दै शुक्रबार आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय कुश्मामा अध्ययनरत कक्षा ६, ७, ८, ९, र १० का विद्यार्थीहरुको आयोजनामा विद्यालयमा अध्यापनरत गुरुहरुलाई सम्मान गर्दै विद्यार्थीहरुले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्ने गुरुहरु प्रतिको भक्ति, गुरु दक्षिणा र कृतज्ञता प्रकट गर्न यस शुभ दिनमा भव्य गुरु पूजा कार्यक्रमको आयोजन गरि गुरु पुजन गरिएको छ ।

कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुको तर्फदेखि स्वागत मन्तव्य कक्षा दशमा अध्ययनरत सन्दिप केसी र गृष्मा पौडेलले दिएका थिए । गुरु तथा गुरु पूर्णिमाको महिमाबारे शिक्षक नारायण पौडेलले प्रष्टएका थिए ।

परापूर्व कालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । बर्षौंसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब काँचुली फेर्यो तर गुरुको महत्व कहिल्यै कम भएन । स्कुल, कलेज वा विश्वविद्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् ।

ती हाम्रा गुरु हुन जसले अज्ञानताको अध्याँरोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउँछन आजका सबै आविष्कारहरु सबै हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन् ।

जसले गुरुको महत्व बुझेको छ, उसले ज्ञानको महत्व बुझेको छ । गुरु ती हुन जस्ले हाम्रो जीवनमा सत्य र ज्ञानको अमुल्य शिक्षा दिन्छन । गुरुको सबैभन्दा ठुलो दक्षिणा भनेको उनले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहि पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ । त्यसैले सम्पूर्ण विद्यार्थीहरुले गुरुका असल उपदेशलाई ग्रहण गरी अगाडी बढ्न सकेमा मात्र यस गुरुपूर्णिमा मनाउनुको सार्थकता रहने कुरा व्यक्त गरे ।

यसैगरी कक्षा छ, सात, आठ, नौ र दशका सम्पूर्ण विद्यार्थीहरुले क्रमशः गुरुहरुलाई आ—आफ्नो गुरु भेट सहित गुरु पुजन गरेका थिए । सम्पूर्ण विद्यार्थीहरुको तर्फदेखि छात्राद्वय लिजा गुरुङ र प्रमिन्सा चाम्लिङ्ले नृत्य प्रस्तुत गरेका थिए । कक्षा छ देखिका विद्यार्थीहरुले गुरुको महत्वको बारेमा बताउदै गुरुले देखाएको मार्ग र दिएको शिक्षा अनि दिक्षाको पालन नै असल शिष्यको धर्म हो भन्दै आजको गुरु पूर्णिमा मनाइ रहँदा अझै गुरुको महिमा बुझ्न पाएको बताए ।

विद्यालयका लेखा प्रमुख धर्म बहादुर पौडेलले हाम्रो संस्कृतिको निरन्तरता अनि गुरु प्रतिको सम्मान भाव नै सफलताको मूल भएको हुँदा सबै गुरु र विद्यार्थीहरु बिच सदैव अपनत्वमा बाँधी सफलताको शुत्रपात गरिहन शुभकामना दिए । साथै कार्यक्रम आयोजन गर्ने सम्पूर्ण कक्षा र कक्षाका विद्यार्थीहरुलाई बिशेष धन्यवाद दिए ।

उक्त कार्यक्रममा विद्यालयका एकेडेमिक तथा इसिए इन्चार्ज कमल थापाले गुरु, गुरु पूर्णिमाको महत्व साथै वर्तमान समयमा हाम्रो पूर्विय संस्कृतिमा गुरु पूर्णिमाको उदय साथै गुरु ती हुन जसले हाम्रो जीवनमा सत्य अमूल्य शिक्षा दिन्छन । सच्चा गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्तिभर हुँदैन । जसलाई भगवान सबै कारक हुन र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सहि ज्ञानको अर्थ थाह छ ।

जो त्यसैमा जीवन बिताउँछ । जो रिस, राग लोभ मोह भन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन् । हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरुहरुलाई आज यस महान गुरु पुर्णिमा को दिन सत् सत् प्रणाम गर्दै गुरुको सबै भन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटो अबलम्बन र सिकाएको ज्ञान र मार्ग निर्देशको सहि पालना नै हो ।

आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको बताउदै सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले आजको शुभ दिनबाट गुरुहरुका हरेक मार्ग निर्देशनहरुलाई आत्मसत गरी अगाडी बढेमा यस गुरु पूर्णिमाले सार्थकता पाउने छ र सबै भन्दा ठूलो गुरुभेटी र गुरु दक्षिणा हुने कुरा बताए ।

कार्यक्रममा एकेडेमिक इन्चार्ज र लेखा प्रमुखद्वारा विद्यार्थीहरुले गुरु पुजनका निम्ती ल्याएको केकलाई संयुक्त रुपमा काटेर गुरुको सम्झनामा विद्यार्थीहरुद्धारा गुरुहरुलाई खुवाईएको थियो । उक्त कार्यक्रमको अध्यक्षता कक्षा दशकी छात्रा तथा विद्यालय क्याप्टेन अनिसा रिजालले गरेकी थिइन् भने संचालन कक्षा दशमा अध्ययनरत छात्रा द्वय करुणा पौडेल र विनिता भण्डारीले गरेका थिए ।