पाकिस्तानको चुनावी नतिजा एक समूहद्वारा अस्वीकार

655
views

काठमाडौं । पाकिस्तानका राजनीतिक दलहरुको एक समूहले गत बुधबार भएको चुनावको नतिजा अस्वीकार गरेको छ ।

समूहमा आबद्ध दलहरुले चुनावमा धाँधली भएको आरोप लगाउँदै नतिजा अस्वीकार गर्ने निर्णय गरेका हुन् ।समूहमा आबद्ध दलहरुको इस्लामावादमा बसेको बैठकले नतिजा खारेज गर्ने निर्णय गरेको हो ।

बैठकमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पीएमएन–एल का प्रतिनिधि पनि सहभागी थिए । बैठकले नयाँ ढंगबाट चुनाव गराउनुपर्ने माग गरेको छ ।

चुनावमा पूर्व क्रिकेटर इमरान खानको तहरिके इन्साफ पार्टी (पीटीआई)ले सबैभन्दा बढी सिट जितेको छ भने शरीफको पार्टी दोस्रो भएको छ ।

बैठकपछि नवाज शरीफका भाई शाहबाज शरीफले उनको पार्टीले अझै पनि संसद् बहिस्कार गर्ने या नगर्ने भन्नेबारे निर्णय गरी नसकेको बताए । यसअघि उनको पार्टीले विपक्षीको भूमिका निर्वाह गर्न तयार रहेको जनाएको थियो ।

बैठकपछि एमएमए पार्टीका नेता मौलाना फजलुर रहमानले पत्रकार सम्मेलन गर्दै पाकिस्तानमा पुनः चुनाव गराउनु माग गर्दै विरोध प्रदर्शन गर्ने जानकारी दिए ।

चुनावपछि संयुक्त रणनीति तयार गर्न त्यहाँका एक दर्जनभन्दा बढी दलले संयुक्त बैठक बोलाएका थिए । चुनावमा तेस्रो स्थान हासिल गर्न सफल पाकिस्तान पिपुल्स पार्टी भने बैठकमा सहभागी भएको थिएन ।

पाकिस्तानमा सरकार गठनका लागि १ सय ३७ सिट आवश्यक पर्छ । इमरान खानको पार्टीले १ सय १५ सिट जितेको छ । उसलाई बहुमत पु¥याउन अर्को दलको सहयोग आवश्यक पर्छ । (एजेन्सी)