हराउँदै नेपाल–भारत सीमा स्तम्भ

886
views

नेपालगन्ज, १५, साउन । जिल्लाको जानकी गाउँपालिका–१ साईगाउँ बढैयास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भलाई बर्से्नि नालाले कटान गरिरहेको छ । नेपाल भएर बग्ने उक्त नालाले मुख्य सीमा स्तम्भ बगाउने जोखिम बढेको छ । तर, सीमा स्तम्भ जोगाउन दुवै देशका अधिकारी भने मौन रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘खोलाको बीच भागमा मुख्य सीमा स्तम्भ छ, पटकपटक खोलाले काट्दा यो स्तम्भ निकै जोखिममा परेको छ,’ स्थानीय ईब्रार हुसेन खाँले भने । उक्त क्षेत्रमा भारतीय पक्ष आएर सीमा स्तम्भ निरीक्षण गर्ने गरे पनि नेपाली पक्षलाई कुनै चासो नभएको उनले सुनाए । खोलाको बीचमा रहेको उक्त स्तम्भ जीर्ण अवस्थामा पुगेपछि यसअघि मर्मत गरिएकोमा पुनः खोलाले बगाउने खतरा रहेको स्थानीयको भनाइ छ ।

सीमा स्तम्भको सुरक्षाका लागि बलियो तटबन्ध नहुँदा पटकपटक समस्या आएको स्थानीय अगुवाको भनाइ छ । सरकारले सीमा स्तम्भप्रति चासो नदिने हो भने भारतीय पक्षद्वारा सीमा मिचिने खतरा रहेको उनीहरू बताउँछन्। भारतले सीमा स्तम्भ निगरानीका लागि आफ्नो सीमा सुरक्षा बल (एसएसबी) लाई २४ सैं घण्टा दसगजा क्षेत्रमा खटाएको छ । यसका लागि करिब एक किलोमिटर दूरीको फरकमा भारतले एसएसबी क्याम्प राखेको छ । नेपाली सुरक्षाकर्मी भने दसगजा क्षेत्रमा विरलै देखिन्छन् । ‘दसगजा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण गर्ने दायित्व दुवै देशको हो, सीमा स्तम्भको संरक्षण भएपछि भोलि विवाद आउँदैन,’ स्थानीय युवा जाकिर राईले भने, ‘हाम्रो देशलाई त्यति चासो छैन, भारतले २४ सैं घण्टा चासो बढाइरहेको छ ।’

नेपाल सरकारले सीमा स्तम्भ सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी बललाई खटाउँदै आएको छ। तर, सशस्त्र प्रहरी दसगजा क्षेत्रभन्दा निकै टाढा बस्दै आएका छन् । जसकारण एसएसबीले गरेजस्तो २४ सैं घण्टा सीमा स्तम्भको निगरानी गर्न सम्भव हुँदैन ।

नेपाल सरकारले सीमा स्तम्भ सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी बललाई खटाउँदै आएको छ। तर, सशस्त्र प्रहरी दसगजा क्षेत्रभन्दा निकै टाढा बस्दै आएका छन् । जसकारण एसएसबीले गरेजस्तो २४ सैं घण्टा सीमा स्तम्भको निगरानी गर्न सम्भव हुँदैन । ‘सशस्त्र प्रहरीलाई सीमा स्तम्भको सुरक्षा गर्ने जिम्मा त दिइएको छ तर सरकारले मागेको बेला रिपोर्ट बुझाउनेबाहेक अरू काम नेपाली सुरक्षाकर्मीले गर्न सकेनन्,’ स्थानीय भन्छन् ।

नेपाली सुरक्षाकर्मीले पनि २४ सैं घण्टा दसगजा क्षेत्रमा निगरानी बढाइदिए सीमा स्तम्भ हराउने समस्या अन्त्य हुने उनीहरूको भनाइ छ । ‘भारतीय सुरक्षाकर्मीमात्रै दसगजा क्षेत्रमा देखिन्छन्,’ होलियाका एक स्थानीयले भने, ‘भारतीय सुरक्षाकर्मीकै हालिमुहाली छ, उनीहरूले सीमा स्तम्भ सारे पनि नेपाललाई थाहा हुँदैन ।’ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेले सीमा स्तम्भको सुरक्षा अवस्थाका विषयमा समयसमयमा रिपोर्ट बुझाउने गरेको एसपी भेषबहादुर शाहले बताए । ‘म भर्खरै सरुवा भएर यहाँ आएको हुँदा सीमा स्तम्भबारे त्यति जानकारी त छैन तर सीमा सुरक्षा कार्यालयले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने ।

जिल्लास्थित नेपाल–भारत सीमा स्तम्भको अवस्था लामो समयदेखि दयनीय छ । सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेको अभिलेखअनुसार हालसम्म जिल्लास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेका कुल ३२ वटा मुख्य सीमा स्तम्भमध्ये ४ वटा हराएका छन् भने एउटा स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ। यस्तै कुल २ सय ७५ वटा सहायक सीमा स्तम्भमध्ये ५ वटा हराएको, २१ वटा मर्मत गर्नुपर्ने र ३ वटा पुनःनिर्माण गर्नुपर्ने अवस्थाका छन्। कतिपय सीमा स्तम्भ नदी र खोलाले बगाएर हराएका छन् भने कतिपय स्तम्भ गायब पारिएका छन्। हराएका र जीर्ण अवस्थाका सीमा स्तम्भ पुनःनिर्माण तथा मर्मतका लागि दुवै देशका अधिकारीले चासो नदिएको स्थानीय बासिन्दा बताउँछन् । नागरिक दैनिकबाट