अन्नपूर्णको पहिलो व्यावसायिक उडान आज

1034
views

काठमाडौँ, १६, साउन । नेपाल वायु सेवा निगमले बुधबारदेखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दैछ । सोमबार नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न लागेको हो ।

निगमका अनुसार पहिलो उडान कतारको राजधानी दोहामा हुनेछ । बुधबार राति ८ बजे आफ्नो नियमित तालिका अनुसार नै वाइड बडी दोहाका लागि उडान गर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

वाइड बडी उडानको अवसरमा निगमले काठमाडौँदेखि दोहासम्मको एकतर्फी भाडा न्यूनतम ११ हजार रुपियाँ निर्धारण गरेको छ । त्यस्तै काठमाडौँ–दोहा–काठमाडौँको दोहोरो भाडा न्यूनतम १८ हजार रुपियाँ तोकिएको निगमले जनाएको छ । दोहादेखि काठमाडौँसम्मको उडानमा निगमले बिजनेस स्तरका यात्रुलाई ५५ किलोग्राम र इकोनोमी टिकटसहितका यात्रुलाई ४५ किलोग्राम ब्यागेज निःशुल्क लिन पाउने सुविधा उपलब्ध गराएको छ ।

निगमले गत असार १४ गते फ्रान्सको तुलुजबाट पहिलो वाइड बडी जहाज नेपाल ल्याएको हो । फ्रान्सेली जहाज निर्माता एयरबसको उक्त वाइडबडी निगमले आफ्ना अन्य गन्तव्यमा समेत प्रयोग गर्ने योजना बनाएको छ । जहाजमा २७५ सिट छन् । यसमध्ये १८ वटा सिट बिजनेस स्तरका छन् । निगमले दोस्रो वाइड बडी जहाज मकालु गत साउन १० काठमाडौँ ल्याइ सकेको छ । प्राधिकरणबाट उडान अनुमति पाएपछि त्यसबाट पनि नयाँ गन्तव्यमा उडान गर्ने निगमको तयारी छ । निगमका अनुसार दक्षिण कोरिया, जापान र साउदी अरबमा वाइड बडीले उडान गर्नेछ ।