दुई कोरियाबीच सैनिक तहमा वार्ता

596
views

सिउल । उत्तर र दक्षिण कोरियाबीच छलफल भएको छ । गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा सीमावर्ती सहर पानमुनजोममा आज वार्ता भएको हो ।

जुन १४ यता दुई कोरियाको उच्च तहमा सम्पन्न उक्त बैठक दुई कोरियालाई छुट्याउने निशस्त्र क्षेत्रमा रहेको दक्षिण कोरियाली शान्ति भवनमा भएको थियो ।

‘सैनिक तनाव कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न एउटा व्यावहारिक उपायको खोजी गर्नेतर्फ हाम्रो वार्ता केन्द्रित भएको छ,’ वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं मेजर जनरल किम डो–ग्युनले भने ।

वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी छ भने उत्तर कोरियाका तर्फबाट लेफ्टिनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डलको सहभागिता छ ।