दाङमा आँखा पाक्ने रोगका बिरामी बढे

1076
views

तुलसीपुर । मौसम परिवर्तन उच्च गर्मीका कारण राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । अस्पताल तथा मेडिकलहरुमा केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्तपताल र मेडिकलहरुले जनाएका छन् ।

यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा आउने गरेको अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए ।

आँखा पाक्ने रोगको समस्या लिएर आउने बिरामीहरुमा ब्याक्ट्रेरियल संक्रमण भन्दापनि भाईरल संक्रमण देखिएको र आँखा रातो हुने, चिप्रा लाग्ने र चिलाउने लक्षण देखिएको छ ।

भाइरल संक्रमणमा आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने उनले बताए । विशेष गरी ब्याट्रेरियल संक्रमणले आँखामा त्यति धेरै असर गर्दैन । तर, भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देख्नासाथ तुरुन्तै नजिकको आँखा उपचार केन्द्र पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र देवी देउता लागेको भन्दै घरमा झारफुक गर्ने चलन भएकाले त्यस्तो विधि नअपनाउन चिकित्सकले सुझाव दिएका छन् ।