थबाङ पुग्ने सडक एक महिनादेखि अवरुद्ध

820
views

लिबाङ, १८ साउन । लगातारको वर्षाका कारण रोल्पाको थबाङ पुग्ने दुवै सडक अवरुद्ध भएका छन्।सडकको ठाउँ ठाउँमा पहिरो खसेर र रूख ढलेकाले अवरोध भएपछि आवागमन बन्द भएको हो।अहिले थबाङबासी सडक सेवाबाट वञ्चित भएका छन् ।

दाङबाट होलेरी हुँदै थबाङ पुग्ने सहिद मार्गको पुत्लाचौर–थबाङ सडकखण्डको दर्जनौं ठाउँमा पहिरो खसेको छ । एक महिनायता यहाँ यातायातका साधन चलेका छैनन् । पूर्वीरोल्पाको सुलिचौर–पोबाङ हुँदै थबाङ जोड्ने सडक पनि बन्द छ।पोबाङ–उवा–थबाङ खण्ड पहिरोले क्षतिग्रस्त बनेको छ ।

सडक अवरुद्ध भएपछि थबाङबासी पैदल यात्रा गर्न बाध्य छन् । मिरुल, उवा, थबाङ र पूर्वीरुकुमबासी सडकमा खसेको पहिरो र ढलेका रूख छिचोल्दै जोखिम मोलेर हिँडेका छन् । ‘पहिरो र रूख ढलेर सडक भत्किएको छ । हिलाम्मे हुँदै आवतजावत गर्न बाध्य छौं’, थबाङ गाउँपालिका प्रशासन शाखाका अधिकार बुढा मगरले भने, ‘थबाङबाट हिँडेको तीन दिनपछि सदरमुकाम लिबाङ आइपुगियो ।’ उनी काम विशेषले सदरमुकाम आउन हिँडेको सडकको पहिरोमा जोगिँदै तीन दिनमा बुधबार मुस्किलले सदरमुकाम लिबाङ पुगेको बताए । बुढा मगरजस्तै यस भेगका बासिन्दाले यही कष्ट भोगिरहेका छन् ।

सदरमुकाम लिबाङबाट थबाङ ७६ किलोमिटर टाढा पर्छ । कच्ची सडक भएकाले यातायातका साधनबाट ४ र ५ घण्टामा थबाङ पुग्न सकिन्छ । तर सडक अवरुद्ध भएपछि हिँड्नुको विकल्प छैन । सदरमुकाम लिबाङ, दाङको घोराही र सुलिचौरबाट थबाङसम्म यातायातका साधन चल्दै आएका थिए । सडकमा ठुल्ठूला ढुंगा र पहिरो खसेर बन्द भएपछि यातायातका साधन ठप्प भएको यातायात व्यवसायी सिङाराम परियारले बताए । साना तथा ठूला सवारीसाधन थबाङसम्म जाने क्रम रोकिएको एक महिना नाघिसकेको छ ।

पुत्लाचौरसम्म हिलाम्मे सडकमा सवारी साधन मुस्किलले पुगिरहेका छन्। थबाङ गाउँपालिका र पूर्वी रुकुमका यात्रु यहीँबाट झिटीगुन्टा बोकेर हिँड्न बाध्य छन् । थबाङका स्थायी बासिन्दा अधिकार बुढा मगरका अनुसार सहिद मार्गअन्तर्गत लिक्याङ–खरिबोट सडकखण्डको तीन ठाउँमा ठुल्ठूला ढुंगा खसेका छन् ।

मिरुलको बिसौना, गोलचोलछेडा आसपासमा पहिरो र रूख ढलेर मानिससमेत ओहोरदोहोर गर्न गाह्रो छ । थबाङ पुग्ने सडक नै अवरुद्ध भएपछि पूर्वीरुकुमसम्मको आवतजावतसमेत प्रभावित भएको छ । थबाङ हुँदै पूर्वीरुकुम पुग्ने यात्रु सल्यान, पश्चिमरुकुम हुँदै पूर्वीरुकुमको घुमाउरो यात्रा गर्न बाध्य छन् ।

‘सडक अवरुद्ध भएकाले केही साताअघि मुस्ताङमा टिपर दुर्घटनामा ज्यान गुमाएकाको शव उवा लैजान सकिएको छैन ।’

पूर्वीपोबाङ–थबाङ सडकखण्डको उवा ठूलोबेंसीमा ठूलो पहिरो गएको र खहरेले सडक भत्काएपछि यातायात नचलेको करिब दुई महिना भएको छ । सडकमा सवारीसाधन नचल्ने भएकाले उवा र सेरमबासी हिँडेर पोबाङ पुग्छन् । त्यहाँबाट मात्र गाडी चढ्न मिल्छ । पोबाङदेखि सुलिचौर आउने कच्ची सडक भएकाले आजकाल हिलाम्मे छ । सडक अवरुद्ध भएकाले केही साताअघि मुस्ताङमा टिपर दुर्घटनामा ज्यान गुमाएकाको शव उवा (घर) लैजान नसकिएको उवा निवासी सपना रोकामगर बताउँछिन् । उनीहरूको सुलिचौरमै दाहसंस्कार गरिएको थियो।गाउँमा कोही बिरामी भए भने डोकोमा बोकेर लैजान गाउँले बाध्य छन् ।

खाद्यान्नलगायत सामान बोकेर लैजानुपरिरहेको छ । थबाङमा एम्बुलेन्स भए पनि बिरामी भए पनि बाहिर लैजान कठिन भएको छ । सडक अवरुद्ध भएसँगै यहाँ आयत हुने खाद्यान्नसमेत ढुवानी हुन सकिरहेको छैन । महँगीसमेत बढ्दै गएको छ । व्यापारीले भण्डारण गरेका सामग्री सकिँदै गएका छन् । सवारी साधन पुग्ने स्थानबाट खच्चडमार्फत खाद्यान्न र अन्य अत्यावश्क सामान ओसारपसार भइरहेको छ । अन्नपूर्ण पोष्टबाट साभार