क्यालिफोर्नियामा डढेलोले सवा एक लाख एकड जमिन नष्ट

782
views

साउन, १८ गते । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित जङ्गलमा लागेको डढेलो सहरतर्फ फैलिएपछि हजारभन्दा बढी घर जलेर नष्ट भएको जानकारी दिएको छ । डढेलोले विस्थापित परिवारलाई घर फर्किन अनुमति दिए पनि पुनः आगलागी सुरु भएपछि घर जलेर नष्ट भएको हो ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताएका छन् । हरेक वर्ष आगलागी नियन्त्रण गर्न भइरहेको कठिनाइबाट आफू चकित भएको गभर्नर ब्राउनले बताए ।

आगलागी नियन्त्रणका लागि यस वर्ष छुट्याइएको करिब १२ करोड ५० लाख अमेरिकी डलर बजेटमध्ये केही खर्च भइसकेको ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले बताएका छन् ।

क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो । गत जुलाई २३ देखि सुरु भएको आगलागीमा ६ जनाको मृत्यु भएको र ३८ हजारलाई सुरक्षित स्थानमा सारिएको थियो । यसका साथै आगालागीबाट एक लाख २१ हजार एकड जमिनमा क्षति पुगेको छ ।