प्रमाणपत्र विवादबारे छानबिनको आग्रह गर्दै जोशी बसे विदामा

739
views

काठमाडौँ, २०, साउन । संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबार देखि बिदामा बस्नुहुने भएको छ । उहाँले आफ्नो विवादित प्रमाणपत्रबारे छानबिन गर्न समेत आग्रह गनुर््भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोशीले शनिबार साँझ भेट गरी बिदाको जानकारी गराउनुभएको थियो । जोशी बिदामा बसेपछि अदालतको दैनिक पेसी न्यायाधीश ओमप्रकाश मिश्रले तोक्नुहुनेछ ।
सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले जोशी आइतबारदेखि बिदामा बस्ने जानकारी दिनुभयो । पौडेलले भन्नुभयो ‘उहाँ आज आईतबारबाट बिदामा बस्नुहुनेछ । सर्वोच्चको दैनिक पेसी सूची वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले तोक्नुहुनेछ ।’

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र विवादित रहेको, न्यायलय सुधारको स्पष्ट कार्ययोजना नभएको, र विगतमा गरिएको फैसलाहरू पनि विवादित रहेको भन्दै सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।

जोशीले संसदीय सुनुवाईको उक्त निर्णयलाई आफूले गम्भीर रूपमा लिएको बताउनुभएको छ । शनिबार वक्तव्य जारी गर्दै उहाँले आधिकारिक र औपचारिक रूपमा तथ्य प्रमाण समेत नबुझी समितिले बाहिरी प्रचारका भरमा आफूमाथि अन्याय गरेको बताउनुभएको छ । आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र छानबिनका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।

वक्तव्यमा उहाँले भन्नुभएको छ ‘मेरो प्रमाणपत्रको विषयमा सत्यतासम्म पनि पत्ता नलगाई सन्देहास्पद रहेको आशंका गरी उचित अध्ययन अनुसन्धान बिना पूर्वाग्रह प्रेरित भई ंगरिएको संसदीय सुनुवाई समितिको निष्कर्षप्रति मेरो गम्भीर सरोकार रहेको समेत जानकारी गराउँदछु । यस्तो अवस्थामा मेरा प्रमाणपत्रको विषयमा स्वतन्त्र निकायबाट छानविन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र नेपाल सरकारबाट उचित कदम चालिनेछ भन्ने मेरो अपेक्षा सार्वजनिक गरेको छु ।’

उहाँले आफूले २०२९ सालमा नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको तथ्यलाई समितिले नजरअन्दाज गरेको बताउनुभएको छ ।

प्रमाणपत्रहरुको आधिकारिकता सम्बन्धित निकायबाट बुुझ्दै नबुझी समितिले सार्वजनिक रुपमा आएका धारणाका आधारमा मात्र निर्णय लिएकोमा उहाँले असन्तुष्टि जनाउनुभएको छ । न्यायाधीशको रूपमा पुनरावेदन अदालतमा २२ बर्ष र सर्वाेच्च अदालतमा ४ वर्ष काम गर्दा नउठेकोमा विवाद प्रधानन्यायाधीश हुने अवस्थामा मात्र उठ्नु नियतवश भएको उहाँको भनाई छ ।