भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डको जित

1075
views

काठमाडौं, २० साउन । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेट इङ्ल्यान्डले जितेको छ । इङ्ल्यान्डका बेन स्टोक्सले भारतीय कप्तान विराट कोहलीसहित चार विकेट लिएपछि इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको रोमाञ्चक जित हात पारेको हो ।

१ सय ९४ रनको लक्ष्य पाएको भारत १ सय ६२ रनमा अलआउट भएपछि इङ्ल्यान्डले खेल जितेको हो । जितसँगै ५ खेलको सिरिजमा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ ।

५ विकेट गुमाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारतलाई जितका लागि थप ८४ रन आवश्यक थियो, तर भारतका ५ जना खेलाडी ५३ रन थप्दै आउट भए ।

भारतका कप्तान विराट कोहलीले ५१ र हार्दिक पाण्ड्याले ३१ रन बनाउनुबाहेक अरुले राम्रो ब्याटिङ नै गर्न सकेनन् ।

इङ्ल्याण्डका बेन स्टोक्सले ४ तथा स्टुआर्ट ब्रोड र जेम्स एन्डरसनले समान २(२ विकेट लिए ।

पहिलो पारिमा १३ रनको अग्रता लिएको इङ्ल्याण्डले दोस्रो पारिमा १ सय ८० रन मात्र बनाउन सकेपछि भारतले १ सय ९४ रनको सामान्य लक्ष पाएको थियो ।

दोस्रो पारिमा भारतका इशान्त शर्माले ५, रविचन्द्रन आश्विनले ३ र उमेश यादवले २ विकेट लिएपछि इङल्यान्डले १ सय ८० रन मात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका श्याम करानले सबैभन्दा धेरै ६३ रन बनाए । २० वर्षीय करान म्यान अफ दि म्याच समेत भए । इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट आगामी बुधबार लण्डनमा हुनेछ ।