जाजरकोट पहिरोमा नौ जनाको शव भेटियो, उद्दार कार्य जारी

1044
views

जाजरकोट, साउन, १५ । जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका नौ जनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन् । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेका छन्। पहिरोमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारको घाइते अवस्थामा उद्दार गरिएको छ भने उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

पहिरो आज विहान सात बजेतिर गएको प्रहरीले जनाएको छ । पहिरोमा परी दुई घर पुरिएका छन् ।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको हो । पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए । सो पहिरोमा बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन् ।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।