इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा ८२ जनाको मृत्यु

930
views

पर्वत, २१ साउन । इन्डोनेसियामा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।
भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको भए पनि फिर्ता लिइएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६.४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियो ।