तेल पाइपलाइनः नेपालतर्फ २६ किमि र भारततर्फ २४ किमि ओछ्याइयो

762
views

पर्सा, २१ साउन । अमलेखगन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ १६ किमि पाइप विच्छ्याईएको छ । भारततर्फ भने २४ किमि पूरा भइसकेको छ ।

पाइपलाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालले दिएको जानाकारी अनुसार नेपालतर्फ वीरगन्जस्थित नेपाल–भारत सीमादेखि आयल निगमको अमलेखगन्ज डिपोसम्म ३६ किमि पाइप ओछ्याउनुपर्नेमा १६ किमि सम्पन्न भएको हो । पथलैया काँटादेखि सिमरा हँुदै जीतपुरसम्म र वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ ।

वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा १ किमि, जीतपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वनक्षेत्र हँुदै अमलेगन्जसम्म पूरै काम बाँकी छ ।

परियोजनाअन्तर्गत फागुन २५ देखि पाइपलाइन ओछ्याउन शुरु गरिएको थियो । पाइपलाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा पर्छ । हाल उक्त मार्ग ६ लेनमा बिस्तार हुँदैछ । सडकसँगै पाइप लाइन पनि पुरिनेछ । पाइप जमिनमुनि अढाई मिटर गाडिनेछ । नदी र क्रसिङ परेका स्थानमा नदी तथा जमिनमुनिबाट पाइप ड्रिल गरी लाइन बिस्तार गरिनेछ ।

पाइप लाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ ।

परियोजनामा महाराष्ट्रको सिमलेश लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिदैछ । अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नति पनि भइरहेको छ । भारत फरिदाबादको मोतीप्रभा इन्फ्राटेक प्रालिले यो काम गरिरहेको छ । पाइपमार्फत भारतबाट आउने इन्धन ती ओवरहेड ट्यांकीमा भण्डारण गरिनेछ । ३ हजार ९ सय किलोलिटर क्षमताका २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १र १ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदैछ । यिनमा कुल १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ ।

पौड्यालका अनुसार ४ मध्ये २ वटा ट्यांकीको परीक्षण गरिसकिएको छ । एउटा सही अवस्थामा रहेको र अर्कोको बटम प्लेट काम नलाग्ने अवस्थामा रहेको पाइएको छ । इन्डियन आयल कर्पोरेसनको लगानीमा संञ्चालित परियोजनाका लागि पाइपलाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ सय किमि पाइप ओछ्याइँदै छ । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ छ । कुल लागत झन्डै ३ सय ५० करोड भारु हुन आउँछ ।