घरबाट खेल्न निस्केका थिए निशान

735
views

काठमाडौं– काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन् । स्कुलबाट फर्केर घर पुगी खेल्न निस्केका निशान आइतबार साँझ अपहरणमा परेका थिए । सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने उनी सिनामंगलको हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए ।

अपहरणमा परेका निशानलाई खोज्दै जाँदा भक्तपुरस्थित ठिमीको निर्माणाधिन भवनमा उनको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

पारिवारिक स्रोतका अनुसार स्कुलबाट फर्किएका निशान साथीसँग खेल्न आइतबार साँझ ६ बजे घरबाट निस्किएका थिए । खेल्न निस्किएका उनी अबेरसम्म घर नफर्केपछि परिवारले उनको खोजी सुरु गरेको थियो ।

‘साथीसँग खेल्न जाने भनेर गएको थियो । कहिलेकाहीँ साथीको मै बस्ने गरेकाले अबेर मात्र हामीले खोजी थाल्यौं’, पारिवारिक स्रोतले भन्यो,– ‘साढे ९ सम्म पनि नआएपछि खोजी सुरु भयो ।’

परिवारले छोरा हराएको भन्दै खोजी सुरु गर्दा साढे ९ बजेतिर आमाको मोबाइलमा निशान अपहरणमा परेको भन्दै फोन आएको थियो । अपहरणकारीले लाखौं रकम फिरौती मागे, प्रहरीलाई भने बच्चालाई मारिदिने धम्की समेत दिए । धम्कीका बाबजुद परिवारका सदस्यले प्रहरीलाई खबर गरे ।

लगत्तै भक्तपुरको टोलीसँगै अपराध महाशाखाको प्रहरी टोली खोजतलासका लागि खटियो । खोजी गर्दै जाँदा ठिमी क्षेत्रमा बन्दै गरेको घरमा गाडेको अवस्थामा बालकको शव फेला र्पयो ।

सीम ट्रयाक गर्दा अपहरणकारी फेला

एसएसपी सिंहका अनुसार अपहरणकारीले गरेको फोनको सीम ट्रयाक गर्दै जाँदा प्रहरीले उनीहरुलाई डोलेश्वरको जंगलमा फेला पारेको थियो । त्यसक्रममा प्रहरी र अपहरणकारीबीच मुठभेड भयो । प्रहरीको गोली लागी दुई अपहरणकारी मारिए । प्रहरी इन्काउन्टरमा मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ छन् । नागरिक दैनिकबाट साभार