सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै

939
views

पाँचथर, साउन २२ सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न लागेको छ ।

नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा रहेको छ । सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक छैन ।
चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो रहने छ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सो सडक आगामी माघसम्म निर्माण भइसक्ने छ ।
सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताउनुभयो । “हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए ।