पर्वतका दुई नगरपालिकामा मेयर भिड्ने उम्मेदवारहरुले कडा प्रतिष्पर्धाको सामना गर्नुपर्ने

साना दलहरुको मत निर्णायक

387
views

शुसिल भुजेल
पर्वत, १९, बैशाख । आसन्न स्थानिय तहको चुनावमा कुश्मानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट रामचन्द्र जोशी, नेकपा एमालेबाट मेघनाथ सुवेदी र माओवादी केन्द्रबाट शंकर गिरीले आज निर्वाचन कार्यालयको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्दै छन् । यस्तै फलेवास नगरपालिकामा नोपाली काँग्रेसको तर्फबाट गंगाधर तिवारी, नेकपा एमालेको तर्फबाट पदमपाणी शर्मा र माओवादी केन्द्रबाट मोती रेग्मीले उम्मेदवारी दर्ता गर्ने भएका छन् । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा पार्टीका तर्फबाट चयन भैसकेका उम्मेदवारहरु चुनावी मैदानमा निकै प्रतिष्पर्धी देखिएका छन् । यसअघि पर्वतका दुई निर्वाचन क्षेत्र मध्ये दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेस र निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेले विजय हासिल गरेको थियो । संविधान सभाको निर्वाचन भन्दा स्थानीय निकायको निर्वाचन कडा प्रतिष्पर्धामा हुने पक्कापक्कि भैसकेको छ । राजनीतिक दलहरुलाई उम्मेदवार चयन गर्न सकस भैरहेका बेला चयन भएका उम्मेदवारहरुले आफ्नो आफ्नो पोल्टामा विजय सुनिश्चित भएको दाबी गर्दै आएका छन् । लामो समयदेखी राजनीतिक क्षेत्रमा सर्मपित हुँदै आएका उम्मेदवारहरु मतदाता समक्ष मत माग्दै पुगिसकेका छन् । पर्वतमा साना दलहरुको मत निर्णायक बनेको छ । साना दलहरु जोसँग चुनावी एकता गर्दछन् उसैको पोल्टामा विजय सुनिश्चित भएको साना दलका शिर्ष नेताहरुको भनाई छ ।
साना दल मध्ये पर्वतका तीन दल नेकपा माले, (नेकपा (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरिसकेका छन् । एकताको दल नेकपा (क्रान्तिकारी माओवादी) ले भने देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवार दिनुपर्ने भएको जनाइएको छ । साना दलहरुले जुन दलसँग एकता गर्दछन् सोही दलको उम्मेदवारले विजय हासिल गर्नसक्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।