बादल गृहमन्त्री, प्रकाण्डको हातमा हत्कडी

2436
views

काठमाडौं । जब विचार र निष्ठामा परिवर्तन आउँछ सहयोद्वा पनि दुश्मनको कित्तामा उभिन्छ भन्ने उदाहरण पनि हो गृहमन्त्री बादल भईरहँदा खड्ग विश्कर्मा पक्राउ काण्ड । युद्वकालिन अवस्थामा बादल र प्रकाण्डको यहि प्रशिक्षण हुने गर्दथ्यो । तर आज यि दुवैकाबीच मेल खाएको छ । नेकपाको बहुमतीय सरकारको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छन् भने सरकार विरोधी संघर्षमा प्रकाण्ड छन् ।

प्रकाण्डको पक्राउले यि दुईबीचको द्वन्द्व सतहमा देखिएको हो । सरकारले केही समय यता नेकपाका नेता तथा कार्यकर्ता पक्राउलाई महत्व र उपलब्धीको रुपमा हेरिरहेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्त खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउका विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी उठिरहेका छन् ।

(नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको ‘विद्रोही’ नेकपाका गतिविधिहरु हिंसात्मक भएको भन्दै नियन्त्रण गर्न कुनै कसर नराखिने बताएको बालुवाटार स्रोतले भनाई छ ।

प्रत्राण्ड पक्राउ परेसँगै नेकपा (क्रान्तिकारी माओवादी) ले समेत विरोध जनाउँदै निशर्त रिहा गर्न माग गरेका छन् । यसैबीच प्रकाण्ड पक्राउको विरोधमा (नेकपा)का नेता नै सार्वजनिक रुपमा देखिएका छन् । पूर्वमन्त्री समेत रहेका (नेकपा) का नेता डीआर पौडेलले प्रकाण्डलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसवुकमा ६ बुँदा उल्लेख गर्दै पक्राउको निन्दासमेत गरेका छन् । उलने प्रकाण्डको हातमा हत्कडी भएको फोटोसहित राखेको पोष्टमा प्रश्न गरेका छन्, ‘यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो,’ उनले अगाडि लेखेका छन्, ‘प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन ।’

नेता पौडेलले प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध नगरेको भन्दै अगाडि भनेका छन्, ‘न त उनको पार्टीले नै २०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो ।’

उनले विप्लव नेतृत्वको नेकपाका सिद्धान्त राज्यका लागि समस्या भएपनि राजनीतिक रुपमा समाधान गरिनुपर्ने बताएका छन् ।  ‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ । त्यो राजनीतिक समस्या हो,’ उनले लेखेका छन् । ‘राजनैतिक रुपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ ।’

ओली सरकारको गृह प्रशासन सम्हालेका गृहमन्त्री रामबहादुर थापा प्रकाण्ड पक्राउ पर्दैगर्दा विदेशमा थिए । तर पनि सरकारको लाइन अनुसार नै गृह प्रशासनले विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्दै गएको देखिन्छ ।

हिजोको सहयोद्धाको हातमा लगाइएको हतकडीले मुलुकको अवस्था कता जाने भन्ने कुरामा पनि खड्ग बहादुर विश्वकर्माको हातमा लगाइएको हतकडीले अन्यौलता सिर्जना गरेको छ ।