हावामा विमान बेस्सरी हल्लिँदा २७ यात्रु घाइतेः 

302
views

एजेन्सी, १९, बैशाख । – मस्कोबाट बैंकक जाँदै गरेको एरोफ्लोटको एक विमान टर्बुलेन्स (खराब मौसम) मा फसेका कारण २७ यात्रु घाइते भएका छन् । रुसी अधिकारीका अनुसार चोट घातक नभएपनि थुप्रै यात्रुको हड्डी टुट्यो भने अन्य तीनको शल्यक्रिया गराउनु पर्यो । थाइल्याण्डस्थित रुसी दुतावसाका अनुसार घाइतेमध्ये २४ रुसी नागरिक र तीन थाइ नागरिक हुन् । एक यात्रीका अनुसार विमान बेस्सरी हल्लिरहेको थियो र थुप्रै यात्रीहरु सिटबाट तल भरे । एयरलाइन्स कम्पनीले एक बयान जारी गर्दै भन्यो, ‘ जो यात्रु घाइते भए उनीहरुले सिट बेल्ट लगाएका थिएनन् ।’ विमान चालक एलेक्जेन्डर रुजोवले टेलिभिजन च्यानल रसिया २४ लाई दिएको जानकारी अनुसार उक्त हलचल खुल्ला आकाशमा भएको थियो जसका कारण यसको ‘पूर्वानुमान लगाउन असम्भव’ थियो । दुर्घटनापछि मोबाइल फोनबाट लिइएको तस्बिरमा घाइते यात्रुसहित खानेकुराका सामान यता–उती छरिएका देख्न सकिन्थ्यो । सबैभन्दा नराम्रो असर विमानको पछिल्लो भागमा अनुभव गरिएको बताइएको छ । ३ सय १३ यात्रु रहेको बोइंग ७७७ बैंकक विमानस्थलमा रोकिनु ४० मिनेछ पूर्व विमान टर्बुलेन्समा फसेको थियो ।