विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रविद्धता जनाएको छ– अर्थमन्त्री

1361
views

काठमाडौँ, २६, साउन । नेपालमा हाल करीब रु दुई अर्ब ७० करोड डलर अर्थात रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिका पुगेका डा. युवराज खतिवडा राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि विश्व बैंकले सहयाता रकममा दोब्रले वृद्धि गर्ने प्रतिवद्धता जनाएको जानाकारी दिए ।

अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको पनि उनको भनाई थियो ।

नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तराष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।

नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ । यस्तै केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ । यस्तै संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री डा खतिवडाले यही साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराएका थिए ।

यसैगरी खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गरेका थिए । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका संघीयता कार्यान्वयनका सन्दर्भमा राख्नुभएको जिज्ञासामा डा खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करीब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारेका थिए ।

अर्थमन्त्रीसँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेका थिए । भेटमा ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा डा खतिवडाले नेपालको तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।

यस्तै भ्रमणका क्रममा अर्थमन्त्री डा खतिवडाले बैंकका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनसँग भेटवार्ता गरी नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी दिएका थिए ।

सो बैठक तीनदिनसम्म चलेको थियो । बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता थियो ।

भ्रमणका क्रममा अर्थमन्त्रीले अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तराष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । सो अवसरमा अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा ‘नेपाल डे’ पनि मनाइएको थियो ।