जागिरभन्दा गाई पालन बाट सन्तोषजनक र मनग्य आम्दानी

2782
views

कोहलपुर साउन–२७ कोहलपुर ८ पिपरीका ४५ वर्षीय विष्णु पोखरेलले सामाजिक विषयमा डिग्री उतीर्ण छन् । डिग्री साटिफिर्कट लिएका पोेखरेल भने ३५ वटा गाईका मालिक छन् । संघसस्थामा राम्रै सेवासुविधाका साथ खाएको जागिरे छोडेर उनी विगत १२ बर्षदेखि व्यवसायीक गाई पाल्दै आएका छन् ।

प्रकृति गाईपालन फार्ममार्फत गाई पाल्दै आएका उनी डिग्री पढेर पनि गाई पालेर पशुपालनमा युवाहरुका लागि भविष्य रहेको उदाहरणीय देखाइरहेका छन् । अहिले फार्ममा ३५ वटा गाईमा १७ वटाले दैनिक २ सय ३० लिटर दुध दिने गरेको पोखरेलले बताए । दैनिक १२ हजार ६ सय रुपैँया बराबरको दुध यहाँबाट दुग्ध संस्थान कार्यालय, सहकारीका दुग्ध संकलन केन्द्रमा जाने गरेको छ, उनले भने, मेरो मुख्य आम्दानीको श्रोत र रोजगारको माध्यम गाईपालन हो ।
उनी जर्सी, हलिष्टिन र हरियाना जातका गाई पाल्दै आएका छन् । आफूले पशुपालन उद्योगका रुपमा गाईपालन थालेको उनको भनाई छ । अहिले गाई फार्ममा दुई जना सहयोगीका रुपमा रोजगारी पाएका छन् । गाईको गोबर मात्र बार्षिक ३ लाख बढीको विक्रि उनी गर्दै आएका छन् । गाईको दुध विक्रि गरेर मासिक सबै खर्च कटाएर एक लाख ८० हजार रुपैँया बचत हुने उनी बताउँछन् । उनी मासिक झण्डै ४ लाख मूल्य बराबरको दुध विक्रि गर्छन् । गाई पालेर कमाएको रकमबाट उनले जेठी छोरीलाई सिए पढाएका छन् भने कान्छी छोरीलाई एमबिबिएस पढाईरहेका छन्् । अब कार किन्ने योजना रहेको उनले बताए ।
पोखरेलजस्तै कोहलपुर १२ जानकीटोलकी ३४ बर्षीय शारदा शर्माले शिक्षामा डिग्री पास गरेकी छिन् । उनी अन्य जागिरे नगरेर विगत ७ बर्षदेखि १५ वटा गाई पाल्दै आएकी छिन् । शारदा सिर्जनशील गाई फार्ममा १५ उन्नत गाई पाल्दै आएकी उनी दैनिक १ सय ७२ लिटर दुध विक्रि गर्दै आएकी छिन् । हलिष्टिन, फिजेन जातका गाई पाल्दै आएकी शारदाले डिग्री पढेर भन्दा गाई उद्योगबाट आम्दानी राम्रो रहेको बताउँछिन् । दैनिक साँढे ६ हजार ८ सय रुपैँया बराबरको दुध विक्रि हुँदा मासिक आफूलाई सबै खर्च कटाएर एक लाख बचत हुने गरेको उनले भनिन् । सूरुमा एक गाईबाट सूरु भएको गाईपालन अहिले व्यवसायीक रुपमा सूरु गरेको शारदा भन्छिन् ।
उनी यो अवधिमा ४४ वटा गाईका बाछा नै विक्रि गरिसकेकी छिन् । डिग्री पास गरेर मासिक २० देखि ३० हजारको तलवमा हराउनुभन्दा पढेलेखेका युवायुवती पशुपालन उद्योगमा लाग्न उनको सुझाव छ । यी त जिल्लाका केही उदाहरण मात्र हुन्, जसले डिग्री पास गरेर व्यवसायीक रुपमा गाईपालन उद्योग चलाउँदै आएका छन् । दर्जनौ डिग्रीपास युवाहरु अहिले जिल्लामा गाई, भैसी, बाख्रा, कुखुरा र बंगुरपालनमा लागिरहेका छन् ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. वेदबहादुर केसीले जिल्लामा १ सय४२ वठा पशुपालन फार्म अहिले संचालनमा रहेको बताए । जसमा २३ फार्म डिग्री पास गरेका युवायुवतीले संचालन गरेका छन् । विभिन्न विषयमा डिग्री पास गरेर पनि पशुपालन गरेका युवाहरु विगतको जागिरभन्दा सन्तोषजनक र मनग्य आम्दानी गर्दै आएको उनी भन्छन् ।
पशु कार्यालयले पनि बार्षिक आर्थिक, प्राविधिक देखि अनुदान सहयोग गरिरहेका छौ, उनले भने, डिग्री पास गरेका युवाहरु पशुपालन उद्योगमा लाग्नु अन्य बेरोजगारका लागि प्रेरणा हो । बाँके जिल्ला पशुपालनको हिसावले उपयुक्त स्थान रहेको भन्दै डा. केसीले बेरोजगार युवा र विदेशबाट फर्किएका युवाहरुलाई पशुपालन उद्योगतर्फ लाग्न सुझाव दिन्छन् ।
स्वदेशमा डिग्री पास, विदेशबाट फर्किएका, जिल्लाका व्यापार,राजनिति, समाजसेवा र पत्रकारिता गर्दै आएका युवाहरु समेत अहिले पशुपालनमा लागेका छन् । युवाहरुको बढ्दो पशुपालन मोहकै कारण बाँके जिल्ला दुध र मासुमा आत्मनिर्भरतर्फ अग्रसर रहेको बताईन्छ ।