डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’

885
views

काठमाडौँ, साउन २७ उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा डाक्टरलाइ ‘जन्मकैद’ को सजाय हुने भएको छ । लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

अब उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए वा शरीर अंगभंग भए उपचारमा संलग्न चिकित्सकले जन्मकैदको सजाय भोग्नुपर्ने भएको छ । यो व्यवस्था भदौ १ बाट लागू हुँदै छ । उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।
सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।
चिकित्सकलाई अपराधी सम्झेर सरकारले कानुन ल्याएको छ । जुन कारबाही समेटिएको मुलुकी ऐन लागू हुँदै छ, त्यसले चिकित्सकको मनोबल गिराएको छ । तत्काल सुधार नगर्ने हो भने चिकित्सकले काम गर्न मान्दैनन् ।
एकातिर हामी ‘जेल उइदाउट वेल’ को कुरा गरिरहेका छौँ । अर्कोतर्फ सरकारले त्यस विषयलाई भुलेर दायाँबायाँ हुना साथ जन्मकैद सजाय दिने कानुन ल्याएको छ । त्यो चिकित्सकलाई मान्य हुनेछैन । राज्य चिकित्सकसँग कठोर भएको देखाएको छ । हामी सरकारलाई सच्याउन आग्रह गर्छौँ । भदौ १ देखि हामी हडताल गर्ने हैन, काम छाडेर घरमा बस्छौँ । दुई सय रुपैयाँ शुल्क लिएर आजीवन काराबास बस्ने कुरा हुँदैन । यो कानुनले बिरामीलाई समस्यामा पारेको छ । अब चिकित्सकले बिरामी जाँच गरेमा सिटिस्क्यानदेखि एमआरआईसम्म गर्नुपर्ने हुन्छ ।
मुलुकी ऐनमा उल्लेख भएअनुसार चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुनबमोजिम अधिकार प्राप्त अधिकारीबाट उपचार गर्न इजाजत प्राप्त गरेको व्यक्तिबाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, चिरफार गर्न कुनै पनि प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न पाइनेछैन । तर, लामो अनुभवबाट उपचारसम्बन्धी राम्रो जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा समस्या छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखाका उपसचिव गंगाबहादुर खरेलका अनुसार शैक्षिक योग्यता नपुगेका र इजाजत प्राप्त नगरेका व्यक्तिले स्वास्थ्य उपचार गरेर/गराएको पाइए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना लाग्नेछ । त्यसैगरी, लापरबही तरिकाले चिकित्सा सेवा दिँदा चिरफार गर्दा औषधि खुवाउँदा कसैको मृत्यु भएमा सम्बन्धित व्यक्तिलाई जन्मकैदको व्यवस्था हुनेछ । तर, अंगभंग मात्रै भएमा भने १५ वर्ष कैदको व्यवस्था ऐनले गरेको छ ।
कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको उपचार गर्नुपर्नेमा अर्को किसिमको उपचार गर्ने वा औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको मर्न वा अंगभंग हुन सक्छ भने जानीजानी वा सो थाहा पाउनुपर्ने, मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्न र गराउन पाइनेछैन । त्यस्तो गरी कसैको ज्यान गएकोमा ज्यान मारेसरह र अंगभंग भएकोमा अंगभंग गराएसरह कारबाही हुनेछ ।
बिरामीको व्यथाबारे जानकार वा औषधि गर्न जान्ने वा अनुभवले गरिआएका मानिसले समेत सानोतिनो घाउ खटिरा चिर्नु, फोर्नु, औषधि लगाउने काम गर्नलाई कुनै पासको आवश्यकता नपर्ने उल्लेख गरिएको थियो । उक्त व्यवस्थाले गैरचिकित्सकले समेत बिरामीको स्वास्थ्योपचार गर्नुका साथै सामान्य अप्रेसनसमेत गर्दै आएका थिए ।
बिरामीलाई औैषधि उपचार गर्दा होस नपु¥याई लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामी मर्न गएको वा जिउमा गम्भीर हानि पीडा भएमा त्यस्ता चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।